भारतले वैशाख २१ गतेसम्म लम्ब्यायो लकडाउन

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख २ । भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् ।

मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले वैशाख ८ (२० अप्रिल) सम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन् ।

कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन । ‘जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ । आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्नोछ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ ।’

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

सिफारिस