
काठमाडौँ, वैशाख ५ । धादिङ्गको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीमा आरडिटी परिक्षणको क्रममा कोरोना पोजेटिभ भेटिएको एक युवकमा कोरोना नभएको पुष्टि भएको छ । आरडिटी परिक्षणमा कोरोना देखिएपछि ज्वालामुखि गाउँपालिका–३ का एक युवक जिल्ला अस्पताल धादिङ्ग पुगेका थिए ।
धादिङ्ग अस्पतालले उनको स्वाव परिक्षणका लागि काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाएको थियो । दुई दिनपछि आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो । जिल्ला अस्पताल धादिङ्गका सुचना अधिकारी विक्रम बिकले उनको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको पुष्टि गरेका छन् । सुचना अधिकारी बिक्रम बिकका अनुसार धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाका अर्का एकजना ब्यक्तिको रिपोर्ट पनि नेगेटिभ देखिएको छ ।
कोरोना आशंका गरिएका ज्वालामुखी–३ का युवक ४२ दिनअघि दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । आरडिटी परिक्षणमा कोरोना भेटिएपछि गाउँ नै सशंकित भएका थिए । जिल्ला अस्पताल धादिङ्ग पुर्याउन कुनै एम्बुलेन्स नमानेपछि उनि आफै मोटरसाइकल चढेर अस्पताल पुगेका थिए ।
धादिङ्गमा हालसम्म एक जना कोरोना संक्रमित भेटिएका छन् । नेत्रावती डबजोङ्ग गाउँपालिकाका उर बहादुर तामाङ्गको शुक्रराज ट्रपिकल अस्पतालको आइशोलेसनमा उपचार भइरहेको छ ।