रसुवाको स्याफ्रुबेसी र थाम्बुचेतका १२ जना क्वारेन्टाइनमा

रसुवाको स्याफ्रुबेसी र थाम्बुचेतका १२ जना क्वारेन्टाइनमा

रसुवा, वैशाख १० । कोभिड–१९ नियन्त्रणका लागि उत्तरी क्षेत्रको स्याफ्रुबेंसी र थाम्बुचेतमा स्थापित क्वारेन्टाइनमा १२ स्थानीय बासिन्दालाई राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार रसुवाबाट काठमाडौँलगायत विभिन्न स्थानमा बसोबास गरी हालै गृह जिल्ला फर्किएका बासिन्दालाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका ती बासिन्दामा गोसाइँकुण्ड गाउँपालिकाका आठ र आमाछोदिङ्मो गाउँपालिका क्षेत्रका चार जना छन् । कुनै पनि मानिस रसुवा प्रवेश गरेपछि १४ दिन सरकारी क्वारेन्टाइन र सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखी परीक्षण नतिजाका आधारमा घर पठाइने प्रजिअ भण्डारीले जानकारी दिए ।

स्थानीयस्तरमा परीक्षण शुरू गरिएपछि जिल्लाभित्र आरडिटीबाट हालसम्म ५३ जनाको कोरोना परीक्षण गरिएको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

यसैगरी शङ्कास्पद तीन जनाको स्वाब परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको बताउँदै उनले हालसम्म जिल्लाका कुनै पनि मानिसमा कोरोनाको आशंका नभएको स्पष्ट गरे । रासस

Trending News