
काठमाडौँ, १२ बैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै गर्दा भयावह स्थिति देखा परेको छ ।
शनिबार एकैदिन ३ लाख ४९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्ला चार दिनयता भारतमा दिनहुँ तीन लाख भन्दा बढी संक्रमित थपिएका छन् ।
शनिबार नै २ हजार ७ सय ६० संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि भारतका ठूला ठूला अस्पतालहरु खचाखच भरिएका छन् भने अक्सिजनको चरम अभाव हुन थालेको छ ।
आइतबार बिहान सम्म भारतमा संक्रमितको संख्या १ करोड ६्र९ लाख ६० हजार १७२ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३११ पुगेको तथ्यांकमा उल्लेख छ ।
हालसम्म १ करोड ४० लाख ८५ हजार ११० संक्रमित निको भएका छन् । भारतमा थेग्न नसक्ने गरि संक्रमण बढेपछि चीन लगायतका देशहरुले सहयोग गर्ने इच्छा देखाएका छन् ।
अस्पतालमा अक्सिजनको हाहाकार भएपछि भारतले अन्य मुलुकबाट आयात गरिरहेको छ ।