काठमाडौं, १७ वैशाख । भारतमा लगातार सातौं दिन सम्म तीन लाखभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित पहिचान गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म एक करोड ८७ लाख ६२ हजार ९७६ जना सङ्क्रमित भएका छन् ।
भारतमा हाल ३१ लाख ७० हजार २२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । जुन कुल सङ्क्रमितको १६।९० प्रतिशत हो ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ४९८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मृतकको संख्या बुधबार चौबीस घण्टाको अपेक्षा कमी आएको छ । बिहीबार चौबीस घण्टामा तीन हजार ६४५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
थपिएका मृतकसँगै भारतमा कोभिड १९ बाट हालसम्म दुई लाख आठ हजार ३३० जनाको मृत्यु दर्ता गरिएको छ ।