निलकण्ठ नगरका प्रशासकीय अधिकृत पौडेल वडाध्यक्षबाट कुटिए, निधारमा ४ टाँका !

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र २९, २०७८ | १९:१५:५२

युवराज पहाडी

धादिङ । धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल कुटिएका छन् । उनीमाथि निलकण्ठ नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष गौतमहरि अधिकारीले  कुटपीट गरेको आरोप छ ।

सोमबार राती कुरिन्टारस्थित सिद्धार्थ रेष्टुरेन्टमा पौडेलमाथि कुटपीट भएको हो । कुटपीटबाट पौडेलको निधारमा चोटपटक लागेको र दुईवटा टाँका लगाइएको प्रत्यक्षदर्शीले दियोपोस्टलाई बताएका छन् । निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको अन्तरनगरपालिका कार्यापालिका बैठकका क्रममा बेलुका मदिरा सेवन गरेर वडाध्यक्ष अधिकारीले पौडेलमाथि हातपात गरेका हुन् ।

‘बेलुका नाचगान भइरहेको बेला कार्यपालिका सदस्य समेत रेहेका गौतमहरि अधिकारीले मलाई आक्रमण गर्नुभयो,’ पौडेलले दियोपोस्टसँग भने,‘ममाथि आक्रमण भएको सबैले देखेका छन् । उहाँको आक्रमणबाट मेरो निधारमा चोट लागेको छ । मुग्लिनस्थित अस्पतालमा गएर चार वटा टाँका लगाएर आएको छु ।’
उनले आफूमाथि आक्रमण गर्नेमाथि कानुनी कारबाहीका लागि सोच बनाएको समेत बताए ।

पौडेलमाथिको आक्रमणको विरोधमा निलकण्ठ नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीले आज विरोध स्वरुप पेन डाउन गरेका छन् ।

यद्धपी वडाध्यक्ष अधिकारी भने आफूले हातपात नगरेको दाबी गर्छन् । ‘मैले हातपात गरेको छैन । अहिले राजनीतिक रुपमा ममाथि आक्रमण गर्न थालिएको छ । उहाँहरु बेलुकासम्म मदिरा खाएर बस्नु भएको थियो । धेरै मदिरा पिएका कारण कतै लड्नु भएको होला । मैले त्यस्तो गर्नु पर्दैन । म प्रवक्ता समेत हुँ । सबै विषय पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिदिन्छु ।’

नेपाली कांग्रेसबाट वडा नम्बर ७ मा निर्वाचित अधिकारी जिल्ला सभापति रामनाथ अधिकारीका आफन्त समेत हुन् ।

सम्बन्धित खबर