पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ बिमोचन

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख ०४, २०७९ | ७:३९:२०

काठमाडाै‌ँ ।  अमेरिकी अध्यागमन लगायतका १ सय ११ वटा टिप्स र जानकारीहरु समेटिएको पुस्तक ‘जिरो माइल’को बिमोचन भएको छ । खसोखास अनलाईन पत्रिकाका प्रधानसम्पादक किशोर पन्थीद्वारा लेखिएको उक्त पुस्तक शनिबार काठमाडौंमा उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले  एक कार्यक्रमका बीच बिमोचन गरेकी हुन् ।

पुस्तक ‘जिरो माइल’मा अमेरिकामा आप्रवासी र गैर आप्रवासी भिसामा आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागिमात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको छ । अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने लेखक पन्थीको विश्वास रहेको छ ।

पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु प्रदान गरिएको छ । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गर्ने प्रयास पुस्तकमा गरिएको लेखक पन्थीले जानकारी दिएका छन् । पुस्तकमा प्रदान गरिएका टिप्सहरु जानकारीको लागिमात्र भएको र आफ्नो आवेदन वा मुद्दाबारे कानूनी सल्लाहका लागि कानून व्यवसायीलाई सम्पर्क गर्न लेखकले सुझाव दिए ।

अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रपवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको लेखकले बताए । पत्रकार पन्थीको यो दोश्रो पुस्तक हो । यस अगाडि उनको पहिलो पुस्तक कम्पन बजारमा आएको थियो ।

नेपालको गुल्मीमा जन्मेका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी १० बर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने ‘खसोखास’ का प्रधानसम्पादक हुन् । अध्यागमन, सामाजिक र राजनीतिक विषयमा कलम चलाउने उनीसँग नेपालमा टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा काम गरेको अनुभव छ । उनी अमेरिकामा अंग्रेजी सञ्चार माध्यममा पनि कलम चलाउँछन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका थिए ।

२८२ पृष्ठको पन्थीको पुस्तक जिरो माइल नमस्ते इन्टरनेशल मिडिया गु्रप पाइभेट लिमिटेडले प्रकाशित गरेको छ । पुस्तकको मूल्य नेपालमा ५ सय रुपैया र अमेरिकामा २० डलर रहेको छ । पुस्तक लेखकले आफ्ना स्वर्गीय भान्जा आषिस खनालप्रति समर्पित गरेका छन् । खसोखासकर्मी समेत रहेका खनालको गत मार्च २ मा २६ बर्षको उमेरमा असमायिक निधन भएको थियो । पुस्तक बिमोचनकै सन्दर्भ पारेर खनालको स्मृतिमा स्थापित आषिस फाउण्डेशनको शुभारम्भ समेत गरिएको छ । फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा सामाजिक कार्य गर्नेछ ।

 

सम्बन्धित खबर