
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।
इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ । उनी अदालतमा उपस्थित हुन पुगेका थिए । पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।
पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ । इस्लामावाद प्रहरीले ट्विटरमार्फत उनलाई ‘कादिर ट्रस्ट केस’मा पक्राउ गरेको जानकारी दिएको छ । उनलाई पक्राउ गर्न ठूलो सुरक्षाकर्मी परिचालन गर्नुपरेपनि अहिले अवस्था सामान्य रहेको जनाएको छ ।
गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो । अलजजिरासँग गरेको एक कुराकानीमा उनले आफूविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए । उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ ।