एस्ट्राजेनेकाले संसारभरबाट खोप फिर्ता लिने, कोभिडविरुद्धको खोपमा घातक समस्या देखिएको कम्पनीकाे स्वीकार

दियोपोस्ट संवाददाता  

कोभिड १९ विरुद्ध खोप उत्पादन गर्ने कम्पनी दी अक्सफोर्ड एस्ट्राजेनेकाले संसारभरबाट खोप फिर्ता लिने घोषणा गरेको छ । कोभिडविरुद्धको खोपमा घातक समस्या देखिएको स्वीकार गर्दै उक्त कम्पनीले सो घोषणा गरेको हो ।

कोभिडविरुद्ध एस्ट्राजेनेकाले उत्पादन गरेको खोपको प्रयोगले मृत्यु र गम्भीर असर देखा परेको भन्दै उक्त कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा सन् २०२३ मा मुद्धा परेको थियो । त्यसयता एस्ट्राजेनेकाविरुद्ध ५१ व्टा मुद्धा परिसकेका छन् ।

सोहि मुद्धाको सुनुवाईमा एस्ट्राजेनेकाले उक्त खोपले केहि मानिसलाई समस्या देखा पर्ने (साइड इफेक्ट) भन्दै पहिलो पटक आफ्नो कमजोरी स्वीकार गरेको र सोहि कारण एस्ट्राजेनेकाले संसारभरबाट आफ्नो खोप फिर्ता गर्ने घोषणासमेत गरेको टेलिग्राफमा उल्लेख छ ।
संसारभरबाट खोप फिर्ता गर्ने सम्बन्धमा गत मार्च ५ मा निवेदन परेको थियो । सोहि विषयमा कम्पनीले मंगलबार खोप फिर्ता ल्याउने गरी सहमती जनाएको हो । ‘विश्व बजारबाट खोप हटाइसकिएको छ’ एस्ट्राजेनेकाले भनेको छ, ‘कोभिडको जस्तोसुकै भेरियन्ट आएपनि अबबाट उक्त खोप उत्पादन, विक्रि वितरण गरिने छैन ।’

कोभिडविरुद्ध एस्ट्राजेनेका खोप लगाएका व्यक्तिमा रगत जम्ने, रगतमा प्लेटलेट्स कम हुने, हृदयघात र मस्तिष्कघात गराउने लगायत गम्भीर समस्या देखा पर्ने दाबी गर्दै मुद्धा दायर गरिएपनि एस्ट्राजेनेकाले आफ्नो गल्ती अस्वीकार गर्दै आएको थियो ।
सन् २०२१ म एस्ट्राजेनेका खोप लगाएका मानिसमा असर देखिएपछि पहिलो पटक डेनमार्कले सो खोप प्रयोगमा रोक लगाएको थियो । त्यसपछि आयरल्याण्ड, थाइल्याण्ड, नर्वे, आइसल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, स्पेन, क्यानडा, स्वीडेन, अष्ट्रेलिया लगायत मुलुकले पनि उक्त खोप प्रयोगमा रोक लगाएका थिए ।

काेभिडविरुद्ध सोहि कम्पनीले उत्पादन गरेको ‘भ्याक्जेभ्रिया’ नामक खोपमा पनि साइड इफेक्ट देखा परेको बताइएको छ । उक्त खोपविरुद्ध पनि कानुनी प्रक्रियामा जाने तयारी भइरहेको टेलिग्राफले जनाएको छ ।

टेलिग्राफबाट