मकालु हिमाल आरोहणबाट फर्किने क्रममा शेर्पा गाइडको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । मकालु हिमाल आरोहणबाट फर्किने क्रममा एक शेर्पा गाइडको मृत्यु भएको छ । सफल आरोहणपछि फर्किएका पर्वतारोहि गाइड ५४ वर्षीय लाक्पा तेन्जी शेर्पाको मकालु हिमालको तेस्रो आधार शिविर (क्याम्प थ्री)मा मृत्यु भएको हो ।

उनको मृत्यु गत मंगलबार भएको पर्यटन विभागले जनाएको छ । आरोहणको क्रममा ज्यान गुमाउने उनी यो वर्षको पहिलो पर्वतारोहि हुन् । मृतक शेर्पाको स्वास्थ्य अवस्था खराब रहेकोले उनलाई अन्य शेर्पा गाइडले बोकेर तेस्रो आधार शिविरसम्म पुर्याएका थिए । तेस्रो आधार शिविर पुर्याइए लगतै उनको मृत्यु भएको हो । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।

मृतक शेर्पा सेभेन समिट ट्रेक्सका सदस्य हुन् । उनको मृत्युको कारणबारे प्रतिक्रिया लिन खोज्दा सेभेन समिट ट्रेक्सका कुनैपनि सदस्यहरुसँग सम्पर्क हुन सकेको छैन । यद्यपि, अस्वस्थ हँुदाहुँदै उनलाई किन आरोहणको अनुमती दिइयो भन्ने प्रश्न उठेको छ । शेर्पा सहित चार विदेशी नागरिक र सात नेपाली नागरिकले मे ६ मा मकालु हिमालको सफल आरोहण गरेका थिए । उनीहरु सबै सेभेन समिटमार्फत मकालु हिमाल आरोहणका लागि गएका थिए । सेभेन समिटले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सफल आरोहिको सूची सार्बजनिक गरेको केहि बेरपछि शेर्पाको मृत्यु भएको थियो ।

मकालु नेपालमा पर्ने संसारको पाँचौ अग्लो हिमशिखर हो । यो वर्ष पर्यटन विभागले करिब १ हजार पर्वतारोहिलाई आरोहणको अनुमती दिएको छ । विभागले मकालु हिमाल आरोहणको लागि भने ५९ विदेशी आरोहिलाई अनुमती दिएको छ ।