काभ्रेपलाञ्चोकको जङ्गलमा पुरुषको शव फेला

दियोपोस्ट संवाददाता  

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित विराजे खोल्सा जङ्गलमा आज बिहान पुरुषको शव फेला परेको छ ।

जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

करिब २५ वर्षको जस्तो देखिने पुरुषको शव पहिचान हुन नसकेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीयले बिहान खबर गरेपछि प्रहरीचौकी पाँचखालको प्रहरी टोली आज बिहान करिब ८ बजे घटनास्थल पुगेको हो ।

शवको प्रकृतिले घटना करिब दुई हप्ताअघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानका लागि काठमाडौंबाट तालिमप्राप्त कुकुर ल्याइने प्रहरीले जनाएको छ ।