कपिलवस्तु । विजयनगर गाउँपालिका, वडा नम्बर ६, बद्दौरस्थित एक सामुदायिक विद्यालयको नाम परिवर्तन गरेर त्यस क्षेत्रका संसदले आफुसहित श्रीमतीको नाम राखेका छन् । कपिलवस्तु क्षेत्र नम्बर ३ का एमाले सांसद मंगल प्रसाद गुप्ताले बिगत ३६ वर्षदेखि ‘श्री जन जागृती आधरभुत विद्यालय बद्दौर’का नामले चिनिदैँ आएको बिद्यालयको नाम परिवर्तन गरेर ‘श्री मंगल प्रसाद स्वतन्त्रता गुप्ता अधारभुत विद्यालय बद्दौर’ राखेका हुन् ।
स्कुलको नाम परिवर्तन गर्नु पर्ने कुनै कारण नभएको र नाम परिवर्तन गर्नै परे पनि सांसदले आफुसहित श्रीमतीको नाम राख्न नहुने अभिभावकहरु बताउछँन् । यद्यपी, विद्यालय भवन पुरानो र जग्गा अभावले गर्दा साँधुरो भएका कारण सांसद गुप्ताले विद्यालयका लागि ८ कट्ठा जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा विजयनगर गाउँपालिकाले ७५ लाख रुपैँयाको लागतमा नयाँ भवन निर्माण गर्यो । भवन बनेपछि सांसद गुप्ताले आफुसहित श्रीमतीको नाम राखेर विद्यालयको नाम परिवर्तन गरेको बताइएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम विजय मौरियाका अनुसार पहिलेको विद्यालय भवन हुलाकी सडकमा परेको हुँदा विद्यालय भवन सार्नु पर्ने वाध्यता रहेको थियो । सांसद मंगल प्रसाद गुप्ताले जग्गा उपलब्ध गराए पछि सोही जग्गामा भवन निर्माण गरेको र उनको नाम राख्नु परेको उनी बताउछन् । भन्छन्, ‘सांसद ज्यूले जग्गा उपलब्ध गराउनु भएपछि नाम पनि उहाँकै राख्नु पर्यो । यसमा हाम्रो कुनै स्वार्थ छैन ।’
यद्यपी, नाम परिवर्तन गर्ने प्रकृया निकै झन्झटिलो भएको र कानुन सम्मत तरिकाले नाम परिवर्तन गरिएको उनको भनाई छ । ‘हामीले नाम परिवर्तन गर्न क्षेत्रीय शिक्षा कार्यालय पोखरा, जिल्ला शिक्षा कार्यालय कपिलवस्तु र गाउँ पालिकास्थित शिक्षा समितिको स्वीकृति लिएरै नाम परिवर्तन गरेका हौँ । नाम पविर्तनको फाइल बोकेर हामी ३ वर्षसम्म शिक्षा कार्यालय धाइरह्यौँँ । ३ वर्ष पछि मात्र नाम परिवर्तन भयो । नाम परिवर्तन गर्दा हामीलाई कुनै आपत्ति छैन ।’
त्यसो त, पूर्व बिद्यार्थीसमेत रहेका स्थानीय सम्भु बिश्वकर्मालाई भने परिवर्तित नाम चित्त बुझेको छैन । उनी भन्छन्, ‘मैले प्राथमिक तह सोही विद्यालयमा पढेँ । अहिले न त विद्यालय भवन रह्यो, न त विद्यालयको नाम नै रह्यो । मैले पढेको विद्यालय ‘श्री जन जागृती आधरभुत विद्यालय बद्दौर’ रहेन, दुख लागेको छ ।’
नाम परिवर्तन पछि विद्यालयको इतिहास नै नामेट भएको बिश्वकर्माको भनाई छ । शिक्षा ऐनमा जग्गा दार्ताको नाम लेखाउने ब्यवस्था भएपनि आफ्नो नाम, थर र श्रीमतीको समेत नाम राखेर स्कुलको नाम परिवर्तन गरिएको उनी बताउँछन् । भन्छन्, ‘माननीय ज्युले स्कुलको नाममा आफ्नो नाम राखेर अत्यन्तै अशोभानीय काम गर्नु भयो । उहाँ एक समाजसेवी हो । हाम्रो जनप्रतिनिधि हो । यस अर्थमा पनि विद्यालयको संरक्षण तथा सम्बर्द्धन गर्नु उहाँको दायित्व हो । तर उहाँबाटै बिद्यालयको इतिहाँसाई मेटाउने काम भयो । यो दुखद् करा हो ।’
नाम परिवर्तन गरेर सामुदायिक विद्यालयलाई नीजि विद्यालय जस्तो बनाउन खोजिएको उनको आरोप छ । विद्यालयको नाम उपयुक्त नभएको भन्दै उनी भन्छन्, ‘नाम परिवर्तन पछि विद्यार्थीलाई आफ्नो विद्यालयको नाम उच्चारण गर्न समेत मुस्किल भइरहेको छ । कसैले स्कुलको नाम सोध्यो भने बच्चाहरु नाम भन्न सक्दैनन् । पहिलेदेखी नै सबैको मन मस्तिष्कमा बस्दै आएको नाम परिवर्तन गर्नु गलत भयो ।’
नाम परिवर्तन भएपछि विद्यालयका शिक्षकहरु नै परिवर्तित नाम उच्चारण गर्न अप्ठ्यारो मान्छन् । कतिपय शिक्षक शिक्षिकाले नाम भन्नु परे पुरानै नाम भन्ने गरेको बिश्वकर्मा बताउँछन् । त्यसो त, कतिपय अभिभावकले बिद्यलयको नाम ‘श्री जन जागृति मंगल आधरभुत बिद्यालय बद्दौर’ राख्नका लागि सुझाव दिएका थिए । तर, सांसद गुप्ता र स्कुल ब्यवस्थापन समितिले आफ्नो सुझाव नसुनेको उनीहरुको आरोप छ ।
स्थानीयका अनुसार सांसद गुप्ताले चुनावका समयमा बद्दौरमा बिद्यालय बनाउन जग्गा दान दिएको बिषयलाई चुनाव जित्ने एजेन्डा बनाएको आरोप लगाउँछन् । चुनाब जितिसकेपछि विद्यालयको नाम नै परिवर्तन गराई आफ्नो र परिवारको नाम राखिएको उनीहरु बताउँछन् ।
स्थानीय समाजसेबी नगेन्द्र श्रेष्ठले सांसद गुप्ताको हर्कतप्रति ब्यङ्ग्य गर्दै भन्छन्, ‘हाम्रा कपिलवस्तु क्षेत्र नं.
३ बाट निर्वाचित माननीय श्री मंगल प्रसाद गुप्ता ज्युलाई जग्गा दान गरेर पनि सुख छैन !’ जग्गा दान बाहेक विद्यालयको नाम परिवर्तन गर्नुपर्ने अरु कुनै आधार नभएको र यसले खराब नजिर स्थापना गर्न खोजेको उनको दबी छ ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा सामुदायिक विद्यालय स्थानान्तरण गर्ने, गाभ्ने, तह घटाउने, बन्द गर्ने वा नाम परिवर्तन गर्नेसम्बन्धी व्यवस्था विद्यालयको नक्साङ्कन तथा राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय कानूनले निर्धारण गरे बमोजिम हुनु पर्ने उल्लेख छ ।
तर, सांसद गुप्ताले कानुनी आधारभन्दा माथि उठेर विद्यालयको नाम परिवर्तन गरी आफुुसहित श्रीमतीको नाम र थरसमेत राखिएको प्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।