काठमाडौं । ठमेलमा बेलायती नागरिकको शव फेला परेको छ । मंगलबार बिहान ठमेलको छायाँ सेन्टर नजिकै ३५ वर्षीय बेलायती नागरिक क्यालम माइकल क्लर्कको शव फेला परेको हो ।
घटनाबारे स्थानियले ठमेलस्थित पर्यटन प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भने प्रहरी वृत्त लैनचौरले गरिहेको छ । घटनाबारे प्रहरी वृत्त लैनचौरले बिहान ७ः ३० बजे खबर पाएको थियो ।
माइकलको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा लगिएको र थप विवरण आउन बाँकी रहेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर श्याम कुमार बस्नेतले बताए । ‘हाललाई शव पोष्टमार्टमको लागि टिचिङ लगिएको छ’ उनले भने, ‘घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । रिपोर्टपछि मात्र उनको मृत्युको कारण खुल्छ ।’
घटनापछि माइकलसँगै नेपाल घुम्न आएकी उनकी प्रेमीका प्रहरी सम्पर्कमा आएको बस्नेतले बताए । उनलाई नेपालस्थित बेलायती राजदुतावासको जिम्मा लगाइएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ ।
‘हामी दुवैजनाले आइरिस पबमा ड्रिंक गरेका थियौ, ’ माइकलकी प्रेमीकाले प्रहरीसमक्ष दिएको बयानमा भनेकी छन्, ‘ड्रिंक गरेपछि क्लब गएका थियौ र मलाई माइकलले होटेल पुर्याएर आफु पुन: बाहिर निस्केको थियो । मैले राती ११ बजेतिर फोन सम्पर्क गर्दा म एकछिनमा आउछु भनेको थियो । घटनाबारे मलाई बिहान मात्र थाहा भयो ।’