दियोपोस्टलाई सूचना दिएको भन्दै धादिङ प्रहरीद्वारा एक व्यक्तिको मोबाइल कब्जा !

दियोपोस्ट संवाददाता  

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले एक व्यक्तिको मोबाइल अवैध रुपमा कब्जामा लिएको छ । जिल्ला सदरमुकाम धादिङमा आइतबार मिटरब्याजको पैसालाई लिएर दुई पक्षबीच भएको हानाहानको समाचार दिएको भन्दै सदरमुकामकै एक व्यक्तिको मोबाइल कब्जामा लिइएको हो ।

ती व्यक्तिका अनुसार प्रहरी निरिक्षक अभय लामाले स्थानिय व्यापारी एक व्यक्तिको मोबाइल कब्जामा लिएका हुन् । ती व्यक्तिका अनुसार उक्त घटनाबारे छलफलका लागि जिल्ला प्रहरी कार्यालय पुग्दा दियोपोस्टलाई खबर किन दिएको भन्दै प्रहरी निरिक्षक लामाले ‘यसलाई भित्र हाल्दे’ भनेर धम्की दिएका थिए । ती व्यक्तिले पक्राउ पुर्जी लिएर आए मात्रै आफू भित्र जाने बताएपछि उनको मोबाइल खोसिएको हो । मोबाइल खोसिएको घटनाबारे प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी मकेन्द्र कुमार मिश्रलाई सम्पर्क गर्दा उनले आफूले यस विषयमा प्रतिक्रिया नदिने बताए । ‘यो विषयमा एसपी सापलाई नै सोध्नुहोला ।

यो विषयमा एसपी सापलाई नै थाहा छ,’ उनले भने ।
उनका अनुसार लामा अपराध अनुसन्धानका लागि जिप्रकाबाट खटिने प्रहरी निरिक्षक हुन् । यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।