श्रमजीवीको एकता, आजको आवश्यकता : प्रचण्ड

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजिवी वर्गहरु एक हुनु पर्ने बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेता प्रचण्डले आज शुभकामना सन्देश जारी गर्दै नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गको एकता औल्याएका हुन् ।

सो अवसरमा नेता प्रचण्डले श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताए । शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे ।

सन्देशमा उनले भनेका छन्, “सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो ।”

आठ काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

सिफारिस