
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा’ र ‘माउण्ट एभरेस्ट’ एउटै नभएको बताएका छन् । बिहीबार बिराटनगरमा सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटनका क्रममा उनले ‘माउन्ट एभरेस्ट’सँग ‘सगरमाथा’को कुनै साइनो नभएको बताएका हुन् ।
‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । ती एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो? त्यो बुझिनसक्नु छ ।’ ओलीले भने ।
उनी चढेको व्यक्ति पनि नभएको ओलीको भनाइ छ । ‘उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘उनले त अर्को हिमाल अग्लो हो भनेका थिए । हामीले फेरि माउन्ट एभरेस्ट भनिरहने पनि होइन । एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण त्यो नक्कली नाम हो ।’ ओलीले भने ।
सोलुखुम्बुमा अवस्थित सर्वोच्च शिखरलाई सगरमाथा नै भन्नु पर्ने उनको जिकिर थियो ।