
काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको बताएकी छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परराष्ट्र मन्त्री राणाले घटनालगत्तै बिहीबार नै दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको छानबिन गर्न कुटनीतिक पहल थालिएको बताएकी हुन्।
बिहीबार विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेकी थिइन्। सो कलजेमा बिटेक अध्ययनरत प्रिसाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो।
घटनापछि उडिसा सरकारले पनि विज्ञप्ती जारी गरी घटनाको छानबिन सुरू भएको जानकारी दिएको छ। घटनालगत्तै मृतकको परिवारलाई जानकारी गराइएको छानबिनका लागि प्रहरी खटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले केआईआईटीमा फेरि नेपाली विद्यार्थी मृत भेटिएको घटना दुःखद भनेको छ।
यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्।