प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित

दियोपोस्ट संवाददाता  

काठमाडौं । शनिबार रातीदेखि परेको पानीका कारण मौसम प्रतिकूल हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान ९माउन्टेन फ्लाइट०को विमान डाइभर्ट भएको उनले जानकारी दिए।

रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।