अंग्रेजी नबोल्ने बिद्यार्थीलाई ‘दण्डित’ गरेको प्रति महानगरको आपत्ति, यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन !

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका अन्तर्गतका अंग्रेजी माध्यमबाट पढाई हुने बिद्यालयमा विद्यार्थीले अंग्रेजी भाषाका संवाद नगर्ने बिद्याथीलाई दण्डित गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । महानगरले सोमबार शिक्षा बिभागलाई पत्राचार गर्दै यस बिषयप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण जनाएको हो।

पत्रमा भनिएको छ, ‘शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’

महानगरले यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देश अनुसार सूचित गरेको छ ।