
सुर्खेत । सुर्खेतको भेरीगंगामा मृत अवस्थामा भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । प्रेमाको हत्यमा उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्रीले गरेको पुष्टि भएको हो ।
गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । खत्रीले ढुङ्गाले टाउकोमा हानेर बीभत्स तरिकाले प्रेमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् ।
आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकल टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको उपरीक्षक खड्काले बताए ।
उनका अनुसार अनुसन्धानका लागि प्रहरीको केनाइन शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत ल्याइएको थियो । आइतबार बेलुका नै हत्या आशङ्कामा प्रेमाका श्रीमान दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धान पछि उनका श्रीमानले नै हत्या गरेको प्रहरीको आशङ्का थियो’, उनले भने, ‘पछि केरकार गर्दा आफैंले हत्या गरेको बयान दिए ।’
प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका दर्शन सुरुमा इन्कारी बयान दिएको प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।
गुर्भाकोट नगरपालिका–५, का दर्शन र सोही नगरपालिकाको वडा नम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि बिहे भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार उनीहरूको प्रेम विवाह नै हो । त्यसको केही वर्षमा उनीहरूको छोरी जन्मियो । अहिले उनीहरूको छोरी पाँच वर्षको भइसकिन् ।
लगत्तै दर्शन नेपाली सेनामा नाम निकाल्न सफल भए । दर्शन काभ्रेको वीरदल गणमा कार्यरत छन् । सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले पछि श्रीमान्–श्रीमतिबिच अविश्वास बढ्न थालेको थियो । ‘सेनामा कार्यरत भएपछि दर्शन अन्य महिलाहरूसँग सम्बन्ध बनाउनतिर लागे,’ दर्शनको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक बुढ्थापा भन्छन्, ‘अहिलेसम्म उसको त तीन वटा गर्लफ्रेन्ड रहेछन् । त्यो कुरा प्रेमाले चाल पाउन थालिन् ।’
प्रेमाले श्रीमान् अन्य महिलासँग सम्बन्ध बढाएको थाहा पाएरै उनीमाथि प्रश्न उठाउन थालिन् । त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबिच झैझगडा हुने, कुटपिट हुने गरेको स्थानीयले प्रहरीसमक्ष बताएका छन् ।
यो क्रम पाँच वर्षदेखिकै हो । बीचमा दर्शन विदामा घर आए पनि अन्य महिलासँग फोनमा कुराकानी गरिरहने गर्थे । उक्त कुरा प्रेमालाई मन पर्थेन । दर्शन शनिबार बिदामा घर आउने भए । यो कुरा स्वयं उनले नै श्रीमती प्रेमालाई भने । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । श्रीमान्ले प्रेमालाई बोलाएको ह्वाट्सप च्याटमा पनि देखिएको प्रहरी प्रमुख खड्का बताउँछन् ।
माइतीघरमा रहेकी प्रेमा श्रीमान्लाई लिन भनेर कोहलपुर–सुर्खेत रत्न राजमार्गअन्तर्गत पर्ने छिन्चु बजार पुगिन् । सुरुमा बुढाबुढीबिच राम्रै कुरा भए पनि विस्तारै झगडा हुन थाल्यो ।
‘बजारमै उनीहरूबिच झगडा सुरु भयो, श्रीमान्ले थोरै पर जङ्गलतिर जाऊँ भन्दै लगेछन्,’ प्रहरी उपरीक्षक रुपेश खड्का उनको भनाइ उदृत गर्दै भन्छन्, ‘त्यहाँ पनि झगडा हुन थाल्यो ।’ शनिबार बेलुका ७ बजेसम्म उनीहरूबिच झिंगेनारा जङ्गलमा झगडा भइरह्यो । त्यसपछि खत्रीले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको कुरा प्रहरीसमक्ष बयान दिएका छन् । ‘ढुङ्गा लागेपछि प्रेमा ढलिन्, खत्रीले पाँच मिनेटसम्म त्यहाँ कुरेर बसे,’ खड्का भन्छन्, ‘त्यसपछि मृत्यु भयो भन्ने थाहा पाएपछि उनकै सलले प्रेमाको घाँटीमा बेरे ।’
आत्महत्या गरेको जस्तो बनाउन उनले नजिकैको खोल्सामा लगेर फालिदिए । ‘सलले घाँटीमा बेरेर थोरै तल खोल्सामा रहेको पानीमा लग्यो,’ प्रहरी निरीक्षक खड्का थप्छन्, ‘आत्महत्या गरेजस्तो बनाउका लागि त्यस्तो गरेको हुँ भनेर बयानमा उसले स्वीकार गरेको छ ।’
हत्यापछि नै राति ८ बजेतिर दर्शन त्यहाँबाट गुर्भाकोटस्थित घरमा गएका थिए । प्रहरी प्रमुख खड्काका अनुसार एकअर्काबिच शङ्का, उपशङ्का अत्यधिक थियो । ‘केटाले केटीलाई तेरो अर्को केटा छ भन्ने, अनि केटीले केटालाई तेरो अर्को केटी छ भन्ने रहेछन्,’ उनी भन्छन्, ‘त्यही विषयमा दुई जनाबिच सधैँ झगडा भइरहन्थ्यो ।’ अहिले प्रेमाको शव कर्णाली प्रदेश अस्पताल कालागाउँमा छ ।