
काठमाडौं । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा उम्मेदवारी विवादका कारण दुई समूहबीच कुटाकुट भएको छ । केही उम्मेदवारीमा दाबी विरोध परेको विषयलाई लिएर झगडा हुँदा कुटाकुट भएको हो । अधिवेशनस्थलमा कुर्सी पनि तोडफोड गरिएको छ । विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।
जिल्ला नेतृत्वको उम्मेदवारीमा विधानविपरीत दाबी परेको भन्दै विवाद चुलिएको हो । घटनास्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ भने मतदान प्रक्रिया स्थगित भएको छ ।
अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले पार्टी विधानअनुसार एक कार्यकाल जिल्ला कमिटी वा भ्रातृ संगठनको केन्द्रीय कमिटीमा बसेको हुनुपर्ने शर्तविपरीत उम्मेदवारी स्वीकृत गरिएको आरोप लगाए ।
उपसचिव पदमा रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षमा वीरेन्द्रलाल कर्णको उम्मेदवारी पनि विवादित रहेको यादवको दाबी छ । निष्पक्ष निर्वाचनको माग गर्दै यादवसहित केही उम्मेदवार हाल अधिवेशन हलमै धर्नामा बसेका छन्।
जिल्ला अधिवेशनमा एमाले सचिव रघुवीर महासेठको समूह र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’को समूहबीच प्रतिस्पर्धा भइरहेको छ।