काठमाडौँ । बाल यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको हो ।
सांकेतिक नाम ‘बानेश्वर २६(६४) क’ लाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ । उनी विद्यालयको प्रशासनतर्फ परीक्षा विभागमा कार्यरत रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।
सुवेदीविरुद्ध पीडितकी आमाले शनिबार किटानी जाहेरी दिएकी छन् । प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेर सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । बाल यौन दुर्व्यवहारको कसुरमा सुवेदीलाई पक्राउ गरी पाँच दिनको म्याद थपेर प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
सुवेदीले २०८० चैत महिनामा ती किशोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ । टिफिनको समयमा कक्षाबाट बाहिर निस्केको बेला सुवेदीले आफू एक्लै स्टाफ कोठामा बसी यता आऊ भनेर १४ वर्षीया ती किशोरीलाई बोलाउने गरेको किटानी जाहेरीमा उल्लेख छ । उनले स्टाफ कोठामा बोलाइ करणी गर्ने हिसाबले बालिकाका संवेदनशील अंगहरूमा छुने, समाउने र उनलाई पनि आफ्ना अंग छुने, समाउने गर्न लगाएको आरोप पीडितकी आमाको छ ।
पछिल्लो पटक २०८० चैत २१ गते दिउँसो ३:३० बजे सुवेदीले सोही घटना दोहोर्याएपछि पीडित किशोरीले आमालाई सबै कुरा बताएकी थिइन् । त्यसपछि विद्यालयमा गुनासो गर्दा उल्टै मिलापत्र गर्न दबाब दिँदै छोरीलाई टर्मिनेट गर्दिने धम्की दिइएको पीडितकी आमाले बताइन् ।
छोरीको पढाइको सवाल छ भनेर प्रभावित पार्ने र टर्मिनेट गर्दिन्छु भनेर स्कुलले दबाब दिई शुक्रबार मिलापत्र गर्न लगाएको उनले बताइन् । बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राईसहितले मिलापत्र कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ ।
‘पढाइको सवाल छ भनेर शुक्रबार मात्र धम्की दिई जबरजस्ती मिलापत्र गर्न लगाइएको थियो । प्रिन्सिपल र चेयरमेनसहित १०–१२ जना थिए । कानुन व्यवसायीहरू पनि आएका थिए,’ उनले भनिन् ।
यद्यपि प्रिन्सिपल राईले भने विद्यालयले मिलापत्रका लागि दबाब दिएको सत्य नभएको दाबी गरेका छन् ।
सुवेदीलाई मुलुकी अपराध संहिता २०७४ दफा २२५ बमोजिम बाल यौन दुर्व्यवहार कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त व्यवस्थाअनुसार सुवेदी दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।