एमाले धनुषा अधिवेशनमा ‘कुर्सी’ हानाहान, दुई जनाको टाउको फुट्यो !

दियोपोस्ट संवाददाता  

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्लाको ८औं जिल्ला अधिवेशनमा नामको बिषयमा बिवाद हुँदा कुर्सी हानाहान भएको छ । झडपमा परी दुई नेताको टाउको फुटेको छ भने पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ । झडपमा निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् ।

भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो ।  उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर ९दिपन० र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी परेको छ ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन नसकेको हो । भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष विरोधमा उत्रिएका छन् ।

सिफारिस