पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको ‘उद्दार’ गर्न सांसदहरुद्वारा सरकारसंग माग !

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  पाकिस्तान र भारतबीचको तनावका कारण भारतमा अध्ययनरत विद्यार्थीहरुलाई उद्दार गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधि सभामा बोल्दै सांसदहरुले पाकिस्तानमा रहेका करिब ८० जना नेपाली विद्यार्थीले उद्दारको माग गरिरहेको जनाउँदै उनीहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको उद्दारका लागि सरकारसँग तत्काल कदम चाल्न आग्रह गरे।

खनालले भने, “पाकिस्तानमा रहेका ८० जना विद्यार्थीले उद्दारको माग गर्नुभएको छ। तुरुन्तै उद्दार र सुरक्षाका लागि आवश्यक पहल होस्।”

त्यस्तै सांसद शेरबहादुर कुँवरले भारत पाकिस्तान तनावले दक्षिण एसियामा अशान्तिको संकेत देखिएको भन्दै नेपाल कुनैपनि आतंकवाद र गतिविधिका विरुद्धमा रहेको बताए ।

‘भारत पाकिस्तान द्वन्द्वबाट आइपर्ने समस्याबाट हामीले सर्तकता अपनाउनुपर्छ’, उनले लाखौँ नेपाली भारतमा रहेको भन्दै उनीहरुको सुरक्षा र आयातमा पर्ने प्रभावबारे ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद सरस्वती सुब्बाले भारत पाकिस्तान तनावको असर दक्षिण एसियामा परेको भन्दै त्यसको असर तत्काल नेपालमा पनि पर्न सक्ने बताइन् ।

‘नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भोग्नुपर्ने सम्भावित चुनौतिहरु, भुराजनीतिक दवाव, कूटनीतिक असन्तुलन, खुला सिमाना,सुरक्षा जोखिमलाई ध्यान दिएर भारत र पाकिस्तानसँग संवाद गर्नुपर्छ’, उनले नेपालले संवेदनशील अवस्थामा सुरक्षा रणनीति तय गर्नुपर्नेमा जोड दिइन् ।