काठमाडौँ मल अगाडी मोटर साइकल दुर्घटना, एकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सोमबार बा.३४ प ४३२० नम्बर र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल ठोक्किँदा तनहुँ आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङ नाम गरेका चालकको मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा परेर गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।