पनौतीमा बाढीले बगाएर वेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पनौती ५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरीको अवस्था अझै अज्ञात छ । सोमबार अपराह्न एक्कासी आएको बाढीले बगाएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको हिजोदेखि नै खोजी सुरु गरिए पनि बेलुका भएपछि खोजी स्थगित गरिएको थियो । आज बिहानबाट फेरि खोजी सुरु गरिएको छ ।

बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा क्षति पुर्‍याएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी, बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ ।

रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ को सिमानामा पर्ने माम्ती खोला नजिकै डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । त्यहाँ गत असोजमा आएको बाढीले सडक बगाएपछि ह्युमपाइप राखेर अस्थाी प्रबन्ध गरिएको थियो । सो ह्युमपाइप राखेर बनाइएको बाटो पनि सोमबारको बाढीले बगाएको छ ।

सो स्थानमा आज बिहानैदेखि बाटो मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाटो मर्मतको काम भइरहेकाले पूर्वतर्फबाट आइरहेका सवारी साधनलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ । यसैगरी ‘काठमाडौंतर्फबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।

विभिन्न स्थानहरूमा सडक र यातायातको अवरोध सिर्जना गरेको छ र बाटो मर्मत कार्य भइरहेको छ। बाढीका कारण स्थानीय बासिन्दा र यातायात सेवामा प्रभाव परेको छ।