कांग्रेस नेता मोहन बस्नेतको सांसद पद निलम्बन

दियोपोस्ट संवाददाता

काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् ।

अख्तियारले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ का प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद हुन् ।

यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पनि निलम्बनमा परेको थियो । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् ।

भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।