किर्ते कागजात बनाउने कारखानामा प्रहरीको छापा, ठूलो संख्यामा नक्कली डकुमेन्ट बरामद

दियोपोस्ट संवाददाता  

काठमाडौं । बिगत ८ वर्षदेखि नक्कली कीर्ते कागजात बनाउदै आएको एक कारखानामा प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालय स्थापना गरेर सरकारी बैंक तथा वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेको हो ।

प्रहरीले कारखानाबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमसेनथापा गाउँपालिका–१, गोरखा घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, चम्पादेवी गाउँपालिका–७, ओखलढुंगा घर भएका २८ वर्षीय निर्मल खड्का र कैलाश गाउँपालिका–२, छयाङ्ढुङ मकवानपुरकी २३ वर्षीया अन्जु खत्री छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार छापा मारेर पक्राउ गरेको हो । सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैंक तथा वित्तिय संस्थाका कागजातहरू उनीहरूले बनाउँदै आएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाउने गरेको सएसपी बस्नेतले जानकारी दिए ।

यसका मुख्य योजनाकार बयलकोटी नै हुन् । उनले फुटुङमा कोठा भाडा लिएर दुई जना सहयोगी समेत राखेर काम गरेको पाइएको छ । जसमा मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलब समेत दिने गरेको पाइएको प्रहरीले बताएको छ ।

यो समूहले डिपेन्डेन्ट भिसाका लागि चाहिने म्यारिज सर्टिफिकेट समेत बनाइदिने गरेको प्रहरीले बताएको छ । प्रहरीले यो कारखानाबाट ठूलो संख्यामा नक्कली डकुमेन्ट पनि बरामद गरेको छ ।

सिफारिस