काठमाडौँ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित रहेर काठमाडौामा ‘सगरमाथा संवाद’ सुरू भएको छ । सगरमाथा संवाद को शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले हिमालहरू जोगाउनु पर्ने बताए । उनले हिमाल, पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु पर्ने यथार्थलाई आत्मसात गरेर नेपाल सरकारद्वारा पहिलो पटक विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनले पृथ्वी, जनता, समृद्धिमा ठूलो प्रभाव पारेको भन्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनबाट कुनै पनि समाज पूर्णरुपमा सुरक्षित नरहेको बताए ।
‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं ।’
उनले वातावरण संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताए । पृथ्वी, महासागर र मानवता जोगाउन हिमालहरू जोगाउनु आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।
समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छन्।
आइतबारसम्म सञ्चालन हुने संवादमा विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछ। सगरमाथा संवादका लागि भारतलगायत विभिन्न देशका मन्त्रीलगायत सहभागी छन्।
समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढीको सहभागीता छ।