
काठमाडौँ । पत्रकार सुजित केसीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघले रिहाइको माग गरेको छ । राष्ट्रिय समाचार अनलाइनका सम्पादक तथा प्रकाशक केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको भन्दै महासंघले रिहाईको माग गरेको हो ।
विधुतीय कारोबार ऐन विपरित पूर्वप्रधानमन्त्रीको बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको उजुरीका आधारमा पत्रकार केसीलाई प्रहरीले पक्राउ गरेको पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले जनाएको छ । केसी एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य समेत हुन् ।
समाचार, विचार र समाचारमूलक सन्देशहरू प्रवाह गर्न पाउने तथा कुनै पनि सार्वजनिक विषयमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी गरिनु पत्रकारको नैसर्गिक हक भएको भन्दै महासंघले कसैको मर्यादा, चरित्रमा धक्का पुगेमा क्षतिपूर्ति दाबी गर्ने वा प्रेस काउन्सिलमा उजुरी गर्ने सर्वमान्य अभ्यास रहेको जनाएको छ ।
यससम्बन्धी सबै काम कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र रहेको तर त्यसलाई बेवास्ता गरी अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनुलाई महासंघले अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी बिज्ञप्तीमा प्रहरीले पत्रकारमाथि हस्तक्षेप गरेको भन्दै यस कार्यको गम्भीर चिन्ता प्रकट र खेद व्यक्त गरिएको छ । यो घटनाको छानबिन गरी पत्रकार केसीलाई यथाशीघ्र रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग समेत गरेको छ ।