
काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिका ११ की ३९ वर्षीय राजुकुमारी चौधरीको जहाजमा मृत्यु भएको छ । मंगलबार दिउँसो बाराको सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा उनको मृत्यु भएको हो ।
उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बुद्ध एयरको जहाजमार्फत अपराह्न ४ बजे काठमाडौं ल्याइँदै थियो । सँगै उनका श्रीमान् जङ्गबहादुर चौधरी पनि थिए । लगत्तै राजुकुमारी जहाजमै अचेत भएकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजुकुमारीलाई तत्काल केएमसी अस्पताल सिनामंगल पुर्याइएको थियो ।
चिकित्सकहरूले राजुकुमारीको निधन भइसकेको घोषणा गरेका थिए । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।