
काठमाडौं । सरकारले डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर कम्पनीको टेण्डरसम्बन्धी काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले आर्थिक र प्राविधिक प्रस्ताव खोलिसकेको छ भने अब सम्झौताको चरणमा छ ।
सम्पूर्ण कानूनी प्रकृया पूरा गरी आयोजनाको टेण्डरसम्बन्धी कार्य सम्पन्न भएका कारण आयोजनाले अब भने गति पाउने जगदुल्लाका अधिकारीहरुले बताएका छन् ।
जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रोमेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) को १३ अर्ब बराबरको ठेक्का चिनियाँ र नेपाली जेभी कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र एएनके कन्स्ट्रक्सनले पाएका हुन् ।
प्राविधिक प्रस्ताव मूल्यांकनबाट आर्थिक प्रस्तावका लागि जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी तथा सिनो हाइड्रो कर्पोरेसन छानिएसँगै केही दिनभित्रै सम्झौता भई काम सुरु हुने आयोजनाले जनाएको छ ।

जगदुल्ला कम्पनीले आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेको ठेक्कामा सिनो हाइड्रोले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५ अर्ब ७ करोड रुपैयाँ तथा जियाङ्सी र एएनकेले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए ।
मूल्य कम भएका आधारमा जियाङ्सी र एएनकेले ठेक्का पाइसकेका छन् । यही वैशाख ९ मा कम्पनीले प्राविधिक प्रस्ताव मूल्यांकनबाट जियाङ्सी र एएनके जेभी तथा सिनो हाइड्रो कर्पोरेसन आर्थिक प्रस्तावका लागि योग्य रहेको सूचना जारी गरेको थियो ।

जगदुल्लाको कुल लागत २३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उक्त आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
जगदुल्लाका सीइओ सञ्जय सापकोटाले राष्ट्रिय गौरवकै रुपमा उक्त आयोजनालाई प्राथमिकताका साथ राखेर निर्माण कार्र्य अगाडि थाल्ने तयारी भएको जनाएका छन् । उर्जामन्त्री दिपक खड्काले पनि यसलाई विवादका रुपमा मात्र नलिइ आयोजनाको काम शुरु गर्न छिट्टै सम्झौता गर्ने गरी प्रकृया अगाडि बढाउन सीइओ सापकोटालाई निर्देशन दिएको जगदुल्लाका एक अधिकारीले बताएका छन् ।