तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकास्थित मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । गत राती दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।
मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जिपमा पाँच जना सवार थिए ।
घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।