रुकुमपूर्वको सदरमुकाम निर्णयमा मुख्यमन्त्री आचार्यको भनाई निराधार र भ्रमपूर्ण : भूमे गाउँपालिका अध्यक्षद्धारा खण्डन

- बालाराम शेर्पाली  

रुकुम । ६ वर्ष देखि विवादमा रहेको रुकुमपूर्वको सदरमुकाम सम्बन्धी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले गम्भीर आपत्ति जनाएका छन्।श्रेष्ठले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको अभिव्यक्ति “तथ्यहीन, आधारहिन, भ्रामक र जनभावनाविपरीत” भएको उल्लेख गरिएको छ।

प्रदेश सभाको छैट्टौं अधिवेशनको सातौँ बैठकमा रुकुमपूर्वबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य माननीय सुरुल पुन र आठौं बैठकमा माननीय दिलकुमारी बुढाले के आधारमा रुकुमकोटलाई सदरमुकाम सिफारिस गर्नुभयो रु भनि मुख्यमन्त्रीलाई प्रश्न्न सोधेका थिए।सो प्रश्नको जवाफ दिदैँ मुख्यमन्त्री आचार्यले सदरमुकाम सिफारिस गर्दा जिल्ला समन्वय समिति रुकुमपूर्वको निर्णयलाई आधार मानेको, तीन वटै गाउँपालिकाका अध्यक्षहरु शसरिक उपस्थित भएर हस्ताक्षर गरेको र प्रमुख राजनितिक दलहरुले आफ्नो लेटरप्याडमा रुकुमकोटलाई सिफारिस गरेको भन्ने अभिब्यक्ति दिएका थिए।

मुख्यमन्त्रीको उक्त भनाईलाई खण्डन गर्दै श्रेष्ठले भनेका छन्।“२०७९ मा निर्वाचित जिल्ला समन्वय समितिको पहिलो बैठक देखि हालसम्मका बैठकहरुमा जिल्ला सदरमुकामको एजेन्डाले प्रवेश नै पाएको छैन्।” समितिको पहिलो बैठकमा जिल्ला समन्वय समितिको नाममा रहेको कार्यालय भवन जीर्ण रहेको र सेवा प्रवाहमा कठिनाइ भइरहेको कारण न्यूनतम १–२ करोड रुपैयाँ लागत अनुमानसहित भवन निर्माणका लागि आयोजना माग गर्ने र सेवा प्रवाह गर्ने निर्णय भएको थियो।तर सो निर्णयलाई तोडमोड गरी “एकीकृत कार्यालय भवन” निर्माणको नाममा १९ करोड भन्दा माथिको लागत आयोजना अघि सारिएको थियो।र त्यसले अर्को पक्षलाई रुष्ट बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्न वाध्य बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल सर्वोच्च अदालतद्धारा भवन निर्माण कार्य रोकिएको छ।२०७५ मा सदरमुकाम गोलखाडा सार्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिसकेको स्मरण गराउँदै अध्यक्ष श्रेष्ठले भूमे गाउँपालिकाले तीन वटै पालिकाबीचको सन्तुलन मिल्ने स्थानमा सदरमुकाम तोकि द्धन्द्ध ब्यबस्थापन गर्न ‘भूमे गाउँपालिकाले सदरमुकाम सम्बन्धी विषयमा भूमेली जनताको मनोविज्ञान र नैसर्गिक अधिकारलाई समेतलाई पनि प्रतिनिधित्व गर्दैँ मिलनबिन्दुको अवधारणा अघि सारेका छन्।’ मुख्यमन्त्रीको अभिव्यक्तिले रुकुमपूर्वका नागरिकको भावनामा चोट पुर्‍याएकोमा अध्यक्ष श्रेष्ठले आफु दुखि भएको बताएका छन्।“सदरमुकामजस्तो संवेदनशील विषयमा तथ्यहरुलाई तोडमोड गर्दैँ भ्रम सिर्जना गरिएको विषयप्रती सतर्क रहन नागरिकलाई अपिल पनि गरेका छन्। भने यति वेला सदरमुकाम विषय चर्किदै गएको छ।