प्रहरी हिरासतबाट ‘भगाइएका’ अधिवक्ता त्रिलोक बहादुर चन्द पक्राउ, कारागार चलान !

दियोपोस्ट संवाददाता

काठमाडौं । बैंकिङ कसुर मुद्धामा प्रहरीबाट ‘भगाइएको’ भनि आरोप लागेका त्रिलोक बहादुर चन्द पक्राउ परेका छन् । उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोको टोलीले उनलाई सर्वोच्च अदालत परिसर बाहिरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई पक्राउ गरेलगत्तै आइतबार नै काठमाडौँ जिल्ला अदालत बुझाइएको थियो ।

जिल्ला अदालत काठमाडौंले चन्दलाई आइतबार नै कैद सजायको फैसला गरि कारागार चलान गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गा प्रसाद खनालको ईजलाशले कैद सजाय सुनाएको हो । चन्दले मुद्दा जिताइदिन्छु भन्दै कमानसिंह पुनबाट २० लाख रुपैयाँ लिएका थिए । तर, कमनसिंहले मुद्दा हारेपछि केही रकम वकालतको शुल्क कटाएर बाँकी रकमको भने चेक दिएका थिए ।

जिल्ला अदालतले उनलाई १० दिन कैद र ७ लाख ३९ हजार रुपैयाँ पिडितलाई बराउने फैसला गरेको छ । त्यस्तै ६६ हजार ९ सय ५० रुपैयाँ जरिवाना र एक हजार ४ सय ७८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।

अधिवक्ता समेत रहेका अभियुक्त चन्दले पीडित कमानसिंङ पुनलाई मुद्दा मिलाइदिन्छु भन्दै ‘२० लाख रुपैयाँ’ लिएर ठगी गरेको आरोप लागेको थियो । सोही आरोपका आधारमा आरोपी चन्दलाइ काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

एकसाता अघि सर्वोच्च अदालत परिसरबाट पीडितहरुले आरोपी चन्दलाई नियन्त्रणमा लिई प्रहरीलाई बोलाएर पक्राउ पुर्जी समेत हातमा थमाई सिंहदरबार बृत्तको प्रहरीलाई जिम्मा लगाइएको थियो । तर प्रहरी नियन्त्रणमा परेको केही घण्टामै उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट भगाइएको पीडितले बताउँदै आएका थिए ।

सोही बिषयमा एक साता अघि दियोपोष्टमा ‘बैंकिङ कसुर मुद्दामा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति भगाइएको आरोप’ शिर्षकमा समाचार समेत प्रकाशित भएको थियो ।