
धादिङ । जिल्ला कारागार धादिङमा एक व्यक्तिको रहस्यमयी ढंगले मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ घर भएका विष्णु सुनारको मृत्यु भएको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ७ दिन अघि मात्रै जिल्ला अदालतको फैसलाका आधारमा कारागार चलान भएका सुनारले कारागारको शौचालयमा गलामा पासो लगाएर आत्महत्या गरेको बताए । सुनारले कारागार भित्र झुण्डिएर आत्महत्या गरेको बताइएता पनि घटना भने रहस्यमयी छ ।
कारागार भित्र चामलको बोरा लगायत लुगा सुकाउन लगिएको डोरी प्रयोग गरेर आत्महत्या गरेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार मृतक सुनारले कारागार भित्र कसैसँग नबोल्ने, घुलमिल नहुने स्वभाव देखाउँदै आएका थिए । मृतकको पोस्टमार्टमसँगै घटनाबारे अनुसन्धान हुने उनले बताए ।
तर, अनुसन्धान नै नगरी पोस्टमार्टम गराएकोबारे पीडित परिवारले गुनासो गरेका छन् । केहीबेर शव जिल्ला अस्पतालमै राखिएको थियो । अहिले सहमति भएपछि पोस्टमार्टम गर्न लागिएको बताइएको छ ।
दियो पोस्टमा प्राप्त जानकारी अनुसार मृतक सुनारलाई कारागारभित्र चरम यातना दिने गरिन्थ्यो । करिब एक महिनाअघि कारागार भित्रै एक कैदीलाई कुटपीट गरिएको घटना समेत स्रोतले दियो पोस्टलाई बताइएको छ ।
ती व्यक्तिका अनुसार कारागार भित्र एक व्यक्तिमाथि जेल भित्रैबाट केही नाइकेहरू बाहिर गई मदिरा सेवन गरि फर्किएर कुटपीट गरेको आरोप छ । यद्यपी प्रमुख जिल्ला अधिकारी घिमिरे भने आफूले नेतृत्व सम्हालेपछि कारागारमा सुधार भएको बताउँछन् ।
कारागार भित्र क्षमताभन्दा धेरै कैदी भएका कारण विभिन्न घटनाहरु हुने गरेको बताइन्छ । प्रजिअ घिमिरेले घटना न्युनिकरणका लागि योगा र ध्यानको विधि समेत अबलम्बन गरिएको बताए ।
कारागार स्रोतका अनुसार भित्रबाट सुचना बाहिर चुहिने डरले अहिले कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । कसैलाई पनि फोन गर्न दिइएको छैन । सशस्त्र प्रहरी परिचालन गरेको एक प्रत्यक्षदर्शीले बताए ।