जिउँदै भट्टीमा जलाएर ब्यक्ति ‘हत्या’ गरेका कांग्रेस पूर्वसांसद आलमले पाए सफाई

दियोपोस्ट संवाददाता

काठमाडौं । रौतहट राजपुर बम बिस्फोटको घटनामा घाइतेहरुलाई जिउदै जलाएर हत्या गरेको आरोपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालत रौतहटले दोषी ठहरको भएपनि उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ । त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो । प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए ।

यद्यपी, उक्त घटनाको अनुसन्धान अझै पूरा भएको छैन । सर्वोच्च अदालतको आदेशपछि उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार, त्यसक्रममा केही घाइतेहरु आफूलाई बचाउन आग्रह गर्दै चिच्याएका थिए । घटना सार्वजनिक हुने डरले आलमले सहयोगीहरुसँग मिलेर नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीको बयान थियो ।