गणतन्त्रको सबैभन्दा ठूलो सत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हो : राष्ट्रपति पौडेल

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो सत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने पनि बताएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,’ उनले भनेका छन्, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु,’ सन्देशमा उनले भनेका छन्।

राष्ट्रपति पौडेलले आज नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, न्यायोचित वितरण र सामाजिक न्यायको प्रवन्ध खोजेको भन्दै आर्थिक विकासबिना यी केही पनि सम्भव नभएको बताएका छन्।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनेका छन्, ‘हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ। अनिमात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौं। अनिमात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ। अनिमात्र गणतन्त्रलाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं। अनिमात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्। अनिमात्र हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ। यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो,’ उनले भनेका छन्।

उनले गणतन्त्र केवल एक राजनीति व्यवस्था मात्र नभएर यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताएका छन्।

‘यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौं। म आशा गर्छु, गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौं। गणतन्त्र केवल एक व्यवस्था हैन। यो त आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो। यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्। त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौं। आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ,’ उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएको उल्लेख गरेका छन्।