
कास्की । लमजुङबाट पोखरा आउँदै गरेको बस कास्कीको रुपा गाउँपालिका–१ स्थित च्यार्पेमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । ग १ ख ४१०१ नम्बरको बस शुक्रबार बिहान ११ बजे दुर्घटना भएको हो ।
उकालोमा बसको ब्रेक पाइप फुटेर ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।
बसमा २३ जना यात्रु रहेको र १९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये मध्यनेपाल–७ रामबजारकी ८२ वर्षीया मेनुकादेवी घिमिरेको अवस्था गम्भीर छ ।
उनको दायाँ हात भाँच्चिएको छ भने दुवै खुट्टामा चोट लागेको छ । अन्य घाइतेको अवस्था सामान्य छ । घाइतेको कम्मर र ढाडमा चोट लागेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि केही घाइते घर फर्किसकेका छन् ।