लुम्बिनीमा सुरु भयो ‘बौद्ध आर्थिक’ शिखर सम्मेलन !

दियोपोस्ट संवाददाता  

बुटबल । बुद्धको जन्मस्थल लुम्बिनीमा दुई दिने बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटनमा केन्द्रित रहेर आर्थिक शिखर सम्मेलन गरिएको हो ।

सम्मेलनको शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा करुणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए ।

सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजनाअघि सारेको पनि उनले जानकारी दिए ।

‘लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ,’ उनले भने, ‘लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउन प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताए ।

त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ । उपकुलपति बज्राचार्यले प्रदेश सरकार र विश्वविद्यालयबीच समन्वय आवश्यकता औंल्याउँदै सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि पर्यटक लोभिने क्षेत्र र बस्ने सेवा सुविधाको आवश्यकता औंल्याए । उनले पर्यटक रम्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक संरचना नहुँदासम्म पर्यटनको विकास हुन नसक्ने बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका अनुसन्धान सरकारका नीति योजनामा पर्ने गरी अनुसन्धानमूलक कार्य गर्न आवश्यक रहेको बताए । लुम्बिनीसहित प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन, सम्भावना पहिचान तथा विकासका लागि विश्वविद्यालयले अनुसन्धान गर्ने भन्दै उनले प्रदेश सरकारसँग सहकार्यका लागि विश्वविद्यालय तयार रहेको जिकिर गरे ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्य र लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा सुरु भएको सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसँग सम्बन्धित रहेर सात वटा कार्यपत्र प्रस्तुत हुने लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

सिफारिस