अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल मेडिकल कलेजको नाटक ‘सेतो कोटभित्र लुकेको पीडा’ प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीहरू प्रायः आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र लुकेका थकान, आँसु र त्यागका कथाहरू धेरैले देख्न पाउँदैनन् । तर मंगलबार नेपाल मेडिकल कलेजमा मञ्चन गरिएको नाटकले ती अव्यक्त पीडालाई सजीव रूपमा दर्शकसामु प्रस्तुत गरेको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा कलेजको नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा ‘सेतो कोटको पछाडिको पीडा’ शीर्षकको नाटक प्रस्तुत गरिएको थियो । नाटकले स्वास्थ्यकर्मीहरूको दैनिक संघर्ष, त्याग र मानसिक पीडालाई यथार्थपरक ढंगले चित्रण गर्दै उपस्थित दर्शकलाई भावुक बनाएको थियो ।

नाटकमा एउटी आमाले आफ्नो सम्पूर्ण संघर्ष सन्तानलाई स्वास्थ्य कर्मी बनाउन समर्पण गरेको कथा देखाइएको थियो भने अर्कोतर्फ आफ्नै काखे शिशुलाई घरमा छाडेर अस्पतालमा बिरामीको सेवामा खटिएकी नर्सको पीडा पनि प्रस्तुत गरिएको थियो । परिवारभन्दा पेशालाई प्राथमिकता दिन बाध्य स्वास्थ्यकर्मीहरूको जीवनचित्रले धेरै चिकित्सक र नर्सलाई भावुक बनाएको थियो ।

प्रस्तुतिमा स्वास्थ्यकर्मीहरूले दिनरात बिरामीको जीवन बचाउन संघर्ष गरे पनि बिरामी जोगिन नसकेको अवस्थामा उनीहरूमाथि नै दोष थोपर्ने प्रवृत्तिलाई मार्मिक रूपमा देखाइएको थियो । बिरामीको मृत्यु भएपछि डाक्टर तथा नर्समाथि हुने आक्रमण, दुर्व्यवहार र मानसिक यातनाका दृश्यहरूले सभाहल स्तब्ध बनेको थियो ।

कार्यक्रममा सहभागी चिकित्सक तथा नर्सहरूले नाटकलाई केवल प्रस्तुति नभई आफ्नै जीवनको प्रतिबिम्बका रूपमा अनुभव गरेका थिए । लगातार डबल ड्युटी, परिवारलाई समय दिन नसक्ने अवस्था, चाडपर्वमा सहभागी हुन नपाउने बाध्यता तथा बिरामीको मृत्यु हुँदा अपराधीझैँ महसुस गर्नुपर्ने यथार्थले उपस्थित धेरैलाई भावुक बनाएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नाटकले स्वास्थ्यकर्मीहरूको वास्तविक पीडालाई अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरेको बताइन् । उनले कुनै पनि स्वास्थ्यकर्मी बिरामीलाई हानि पुर्‍याउने उद्देश्यले उपचार नगर्ने र अन्तिम क्षणसम्म जीवन बचाउन इमान्दारीपूर्वक प्रयासरत रहने उल्लेख गरिन् । स्वास्थ्यकर्मीलाई असम्भव अपेक्षाको दृष्टिले होइन, सम्मान र सुरक्षित वातावरणसहित हेर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले स्वास्थ्य सेवामा नर्सहरूको योगदान अतुलनीय रहेको बताउँदै उनीहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि कलेज प्रतिबद्ध रहेको धारणा राखिन् ।

कार्यक्रममा प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय तथा मेट्रोन नविना सिंहले पनि स्वास्थ्य सेवा विस्तारमा नर्सहरूको भूमिकाको प्रशंसा गर्दै सम्मान र प्रेरणाको आवश्यकता औँल्याए ।

सप्ताहव्यापी रूपमा मनाइएको नर्सिङ दिवस अन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो ।

विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई सम्मान गरिएको थियो भने नर्सिङ विद्यार्थीहरूले आधुनिक नर्सिङ सेवाकी प्रणेता फ्लोरेन्स नाइटिङ्गेल को योगदान स्मरण गर्दै सेवा, त्याग र समर्पणको भावलाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।