कंगोमा इबोला संक्रमणबाट ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआरसी)को पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणका कारण हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ। साथै, २४६ वटा शंकास्पद संक्रमित केसहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।

डब्लुएचओले आइतबार उक्त संक्रमणलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात् विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको हो। यद्यपि, यस अवस्थालाई अझै महामारी (प्यान्डेमिक)को श्रेणीमा नराखिएको स्पष्ट गरिएको छ।

संक्रमण इटुरी प्रान्तका बुनिया, मोंग्बवालु र र्वाम्पारा स्वास्थ्य क्षेत्रमा तीव्र रूपमा फैलिएको बताइएको छ। हालसम्म आठ वटा केस प्रयोगशालाबाट पुष्टि भएका छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ।

यो संक्रमण इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। यस कारण स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।

संक्रमण छिमेकी देश युगान्डासम्म फैलिएको पुष्टि भएको छ। राजधानी कम्पालामा दुई संक्रमित फेला परेका छन्, जसमा एक जनाको मृत्यु भएको बताइएको छ। साथै, कंगोको राजधानी किन्शासामा पनि एक संक्रमित भेटिएको छ।

डब्लुएचओ तथा अफ्रिका सीडीसीले संक्रमण नियन्त्रणका लागि तीव्र निगरानी, संक्रमितको सम्पर्क पहिचान, परीक्षण तथा उपचारलाई तीव्र बनाइएको बताएका छन्। तर, इटुरी क्षेत्रमा जारी हिंसा र असुरक्षाका कारण नियन्त्रण अभियान प्रभावित भइरहेको जनाइएको छ।

सिफारिस