युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण, १ हजार भन्दा बढी ड्रोन खसालेको दाबी

दियोपोस्ट संवाददाता  

मस्को । रुस र युक्रेनबिच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो मात्रामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । यो आक्रमण युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन हमलामध्ये एक मानिएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार, खसालिएका ड्रोनसँगै एक ‘नेप्च्युन-एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि नष्ट गरिएको छ । मन्त्रालयले रुसी सेनाले जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।

रुसी सरकारी समाचार संस्था रिया नोवोस्तीलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा भनिएको छ कि रुसी सेनाले ड्रोन निर्माण तथा भण्डारण केन्द्र, युक्रेनी सशस्त्र समूहहरूको अस्थायी तैनाथी स्थल तथा युक्रेनका पक्षमा लडिरहेका विदेशी भाडाका सैनिकहरूको अड्डालाई लक्षित गरी हमला गरेको थियो ।

यसअघि पनि रुसी रक्षा मन्त्रालयले एकै रातमा ५५६ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको थियो । मस्कोका मेयरले २४ घण्टाभित्र मस्को क्षेत्रमा मात्रै १२० भन्दा बढी ड्रोन नष्ट गरिएको बताएका छन् । रुसी समाचार संस्था टासले यसलाई एक वर्षभन्दा बढी अवधिमा राजधानीमाथिको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको छ ।

यता, युद्धका क्रममा दुवै पक्षले लामो दूरीका ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्र बनाउँदै लगेका छन् । पछिल्ला साताहरूमा रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा सयौं ड्रोन र मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएका छन् ।

सिफारिस