सञ्जीव कार्की
प्रिय नवराज !
तिम्रो सहादत केवल व्यक्तिगत प्रेमको परिणति होइन । यो प्रेमको मानवीय मूल्य, समानताको अधिकार र सामाजिक न्यायको पक्षमा उठाइएको एक ऐतिहासिक प्रतिरोध हो। तिमी केवल एक प्रेमी होइनौ, विभेदपूर्ण सामाजिक संरचनाविरुद्ध उभिएको मानवीय साहसको प्रतीक हौ।
कथित अन्तरजातीय प्रेमका नाममा तिम्रो जीवन समाप्त पारिए पनि तिम्रो रगतले भेरीलाई सधैंका लागि रक्तिम बनाएको छ । त्यो रक्तिमता नेपाली समाजमा विद्यमान जातीय विभेद र अमानवीय हिंसाको स्थायी स्मृति बनेर रहनेछ, २०७७ जेठ १० गते ।
नेपाली समाजको स्मृतिमा यो केवल एउटा मिति होइन, जातीय विभेद र अमानवीय हिंसाको गहिरो घाउ बनेको दिन हो । त्यस दिनपछि २०७८, २०७९, २०८०, २०८१, २०८२ हुँदै २०८३ सम्म हरेक वर्ष क्यालेन्डरका पाना फेरिए, घर-घरमा नयाँ वर्षका उत्सवहरू दोहोरिए, तर जातीय विभेद र ज्यादतीको वास्तविक ‘क्यालेन्डर’ भने परिवर्तन हुन सकेको छैन ।
समाजको समयरेखा अघि बढेझैं देखिए पनि विभेदको संरचना भने अझै उही गतिमा घुमिरहेको छ । कहिले प्रेमका नाममा हत्या, कहिले बोक्सी आरोपमा हिंसा, कहिले छुवाछुत र बहिष्करणका नाममा अपमान र मृत्यु । बाहिरबाट हेर्दा परिवर्तन, विकास र लोकतन्त्रको भाषा बोलिए पनि भित्रभित्रै विभत्सता, कुरूपता र चरम अन्यायको जाँतो निरन्तर घुमिरहेको छ ।
यसरी हेर्दा २०७७ जेठ १० केवल एक घटनाको स्मृति होइन, यो राज्य र समाजले अझै पनि जातीय विभेदको गहिरो चक्रबाट आफूलाई पूर्ण रूपमा मुक्त गर्न नसकेको प्रमाण हो । जसरी क्यालेन्डर बदलिन्छ त्यसरी नै हाम्रो सामाजिक संरचनामा पनि विभेदका नयाँ-नयाँ स्वरूपहरू पुनःउत्पन्न भइरहेका छन् । जसको शृंखला सिन्धुलीका कृष्ण विक्सम्म आइपुगेको छ ।
भेरी नदी केवल एउटा प्राकृतिक प्रवाह मात्र होइन, त्यो मानवताविरुद्ध गरिएको अपराधको मौन साक्षी पनि हो । उसका तरंगहरूले निरन्तर रूपमा त्यो दिनको क्रूरता र सामाजिक बर्बरताको कथा सुनाइ रहनेछन् । प्रेम, स्वतन्त्रता र मानवीय गरिमालाई स्वीकार गर्न नसक्ने जातिवादी मानसिकताले पवित्र भेरीलाई मानवको रगतले अपवित्र बनायो ।
मानवताको बलि चढाउने त्यस्ता अमानवीय प्रवृत्तिलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन, न त भेरीले र न नेपाल आमाले नै । तिम्रो हत्या केवल केही व्यक्तिहरूको अपराध मात्र थिएन । त्यो हाम्रो समाजभित्र गहिरोसँग जरा गाडेर बसेको जातीय वर्चस्व, सामाजिक बहिष्करण, र संरचनागत हिंसाको परिणाम थियो । त्यसकारण, यस अपराधको नैतिक कलङ्क सम्पूर्ण समाजको निधारमा छ, र म स्वयं पनि त्यस सामाजिक संरचनाको एक अंश भएकाले आत्मालोचनाबाट मुक्त छैन ।
आफूलाई आधुनिकता, सभ्यता, समानता र प्रगतिशीलताको पक्षधर ठान्ने राज्य व्यवस्था र राजनीतिक संस्कृतिभित्र यस्ता बर्बर घटनाहरू सम्भव हुनु गम्भीर विडम्बना हो । विशेषतः समानता र सामाजिक न्यायको आदर्श बोकेको दाबी गर्ने कम्युनिस्टहरूको दुई तिहाइ बहुमतले शासन गरेको बेला २०७७ जेठ १० गते यस्तो जातीय नरसंहार घट्नुले राज्यको वैचारिक तथा नैतिक असफलतालाई उजागर गरेको थियो ।
म मेरो समुदाय, वर्ग र सामाजिक संरचनाले शताब्दीयौँदेखि दलित समुदायमाथि गर्दै आएको दमन, अपमान र अमानवीय व्यवहारप्रति नैतिक रूपमा जिम्मेवार बोध गर्दछु । यसर्थ, नवराज विक र उनका साथीहरूको सहादत केवल शोक र नेपाली समाजलाई आत्मसमीक्षा गर्न बाध्य पार्ने ऐतिहासिक प्रश्न पनि हो । के हामी साँच्चै समानतामूलक र मानवीय समाज निर्माणको दिशामा उभिएका छौँ? वा केवल त्यसको भाषिक र राजनीतिक अभिनय मात्रै गरिरहेका छौँ?
प्रिय नवराज ! तिमीलाई कुन शब्द, कुन संवेदना, र कुन भाषिक संरचनामार्फत श्रद्धाञ्जली अर्पण गरूँ? म स्तब्ध छु ! निस्शब्द छु! र गहिरो लज्जाबोधले भरिएको छु ! तिम्रो स्मृतिमा यती लेख्दा आज पनि उत्तिकै पीडा हुन्छ, किनभने तिम्रो हत्या सम्भव बनाउने सामाजिक संरचनामा मेरो आफ्नै वर्ग र समुदायको पनि ऐतिहासिक संलग्नता र उत्तरदायित्व रहेको छ ।
यही नैतिक द्वन्द्वका बीच म तिमीलाई यो पत्र लेखिरहेको छु, एक व्यक्तिका रूपमा मात्र होइन, अन्यायपूर्ण सामाजिक संरचनाबाट लाभान्वित समुदायको प्रतिनिधि चेतनाका रूपमा पनि । म श्रद्धाञ्जली अर्पण गरिरहेको छु, तर त्यो श्रद्धाञ्जली केवल शोकको औपचारिक अभिव्यक्ति होइन । यो आत्मालोचना, अपराधबोध, र सामाजिक उत्तरदायित्वको स्वीकारोक्ति पनि हो ।
तिम्रो स्मृतिसामु उभिँदा मलाई लाग्छ, हामीले आधुनिकता, समानता, र मानवअधिकारका बारेमा जति नै प्रगतिशील भाषण गरे पनि हाम्रो सामाजिक व्यवहार अझै गहिरो रूपमा जातीय असमानताबाट निर्देशित छ ।
तिम्रो मृत्युले केवल एउटा जीवनको अन्त्य गरेको छैन । यसले नेपाली समाजको नैतिक चेतनामाथि गम्भीर प्रश्न खडा गरेको छ । त्यसैले तिमीप्रतिको श्रद्धाञ्जली केवल भावनात्मक स्मरणमा सीमित हुन सक्दैन । यो विभेदविरुद्धको नैतिक प्रतिवद्धता र न्यायपूर्ण समाज निर्माणको सार्वजनिक संकल्पमा रूपान्तरित हुनुपर्छ ।
प्रिय नवराज ! मेरो निधारमा टाँसिएको सबैभन्दा पहिलो परिचय केवल ‘मान्छे’ हो । त्यसपछि मात्रै मेरा अरू पहिचानहरू आउँछन् । तिम्रो रगत र मेरो रगतको रंग उही रातो हो । जुन पृथ्वीका आठ अरब मानिसका शरीरमा बगिरहेको छ । तिमीले सास फेरेको हावा र मैले सास फेरेको हावा एउटै हो । यही धर्तीको पानीले हामीले प्यास मेटाएका छौं । त्यसपछि म तिमीभन्दा फरक कसरी भएँ?
जात, वर्ग, धर्मका नाममा कोरिएका विभेदका रेखाहरू कृत्रिम हुन् । दुर्भाग्य, यही विभेदपूर्ण समाजले तिमीलाई बाँच्न दिएन । सभ्यता र मानवताको बाटोमा सबैभन्दा ठूलो बाधक जातीय घृणा बन्यो, र त्यसकै कारण तिमी मारियौ । म त्यो संस्कारको पक्षमा उभिन सक्दिन, जसले मानिसलाई मानिस भएकै कारण अपमानित र हत्या गर्छ ।
नवु तिमी आज यो संसारमा छैनौं, तर तिम्रो रगतले भेरीलाई सधैंका लागि रक्तिम बनाएको छ । भेरीले मानवताविरुद्ध भएको अपराधको कथा सुसाइरहेको छ । प्रिय भाइ, मलाई माफ गरिदेऊ । हामी बोल्यौं, लेख्यौं, चिच्यायौं, तर तिमीलाई बचाउन सकेनौं । अब यो बर्बरता अन्त्य नभएसम्म हामी रोकिने छैनौं । मानवताभन्दा ठूलो धर्म, दर्शन र विचार केही छैन भन्ने विश्वासका साथ हामी विभेदका सबै पर्खाल भत्काउने प्रण गर्छौं । तिमी ढुक्क हुनु, तिम्रो स्मृति केवल शोक होइन, न्याय र समानताको संघर्षको उज्यालो बनेर बाँचिरहनेछ ।
प्रिय नव ! तिमीहरूको हत्या केवल केही व्यक्तिको क्रूरता मात्र थिएन । यो राज्य, समाज र राजनीतिक संस्कृतिको सामूहिक असफलताको भयावह अभिव्यक्ति पनि थियो । जातीय छुवाछुत, बोक्सी, छाउ वा यस्तै अमानवीय कुरीतिहरू केवल सामाजिक अन्धविश्वासका परिणाम र राज्यको उदासीनता, कानुन कार्यान्वयनको कमजोरी, र सत्ताको मौन सहमतिबाट निरन्तर संरक्षित हुँदै आएका संरचनागत हिंसाका रूप हुन् । त्यसैले यस्ता अपराधका प्रत्यक्ष संलग्न व्यक्ति निमित्तकारक भए पनि यसको मूल उत्तरदायित्व राज्य र त्यसलाई सञ्चालन गर्ने राजनीतिक शक्तिमाथि नै जान्छ ।
म पनि यस समाजको एक सदस्यका रूपमा पूर्णतः निर्दोष छैन । मेरो वर्ग, समुदाय र सामाजिक संरचनाले शताब्दीयौँदेखि उत्पादन गरेको विभेद, अपमान र हिंसाबाट आफूलाई पूर्णतः अलग राख्न सक्दिन । उत्पीडनमा मौन रहनु पनि कुनै न कुनै रूपमा त्यसको साझेदार हुनु हो । त्यसैले सरकारसँग मेरो प्रश्न छ—यदि तिम्रो गणतन्त्रमा प्रेम नै सुरक्षित छैन भने त्यो कस्तो लोकतन्त्र हो? प्रेम गरेकै कारण युवाहरूले ज्यान गुमाउनुपर्ने किन?
नवराज ! तिमीहरूको हत्या आकस्मिक घटना थिएन । त्यो समाजमा जिउँदै राखिएको जातीय मनोविज्ञानको परिणाम थियो, जसलाई राज्यको कमजोरी, राजनीतिक दलहरूको मौनता, र कानुनी राज्य स्थापित गर्न नसक्ने निकम्मापनले निरन्तर मलजल गरिरह्यो । यही कारणले अजित मिजारदेखि नवराज विक हुँदै श्रीकृष्ण विकसम्मका युवाहरू न्यायको प्रतीक्षा गर्दै इतिहासका पीडादायी प्रतीक बने ।
तिमीले मृत्यु पायौ, तर तिम्रो मृत्युको कारण कहिल्यै क्षम्य हुन सक्दैन । प्रेमको बदलामा मृत्यु दिने समाज सभ्य हुन सक्दैन । तिम्रो रगतले राज्यको निधारमा लागेको कलङ्कलाई इतिहासले कहिल्यै मेट्न दिने छैन ।
प्रिय नवराज ! तिमीले जस्तै जातीय पर्खाल तोडेर चोखो प्रेम गर्ने साहस गर्दा यही दशकभित्र अजित मिजार, शिवशंकर दास, अस्मिता तोलांगी, संगीता परियारलगायत एक दर्जनभन्दा बढी युवा युवतीले ज्यान गुमाए । लक्ष्मी परियार, मनिता आले, अम्बा बोहोराहरू जात र बोक्सीको आरोपमा मारिए, अझै मारिँदैछन् । कति महिलाहरू छाउपडीजस्ता अमानवीय कुरीतिको सिकार बने । यी सबै घटनाहरू छुट्टाछुट्टै दुर्घटना होइनन् । यी राज्यको उदासीनता, सामाजिक पाखण्ड, र संस्थागत विभेदका निरन्तर अभिव्यक्ति हुन् ।
अजित मिजारको शव आज पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको चिसो बाकसभित्र न्यायको प्रतीक्षामा छ । कुनै नागरिकले मृत्युपछि पनि न्याय नपाउने अवस्था रहनु स्वयं राज्यको नैतिक पराजय हो । त्यसको जिम्मेवार सरकार होइन भने को हो? समानता र लोकतन्त्रको भाषण गर्नेहरूलाई यसले लज्जित बनाउनु पर्दैन?
नवराज ! तिम्रो आत्माले यो राज्यलाई सधैं पोलिरहोस् । तिम्रो स्मृतिले सरकारहरूको निद्रा हराम पारिरहोस् । जबसम्म प्रेमका कारण मानिस मारिन्छन्, जबसम्म जातकै कारण अपमान र हिंसा जारी रहन्छ, तबसम्म तिमीहरूको मृत्यु केवल विगतको घटना रहने छैनस त्यो राज्य र समाजमाथि लागिरहने नैतिक अभियोग हुनेछ ।
हामी चाहन्छौं-तिम्रो रगत अन्तिम होस्, अब कुनै युवाले प्रेम गरेकै कारण ज्यान गुमाउन नपरोस् । तर यति हुँदा हुँदै पनि तिम्रो हत्या पछि पनि दर्जनौ मानिस जातको कारण मारिएका छन् र सिन्धुली प्रहरी हिरासतमा अन्तरजातीय प्रेम विवाहको कारण नयाँ वर्षको पहिलो हप्ता (वैशाख ७) हिरासत भित्र मृत्यु वरण गरेको घटनाले हाम्रो समाज र राज्यको चेत अझै अन्धकारमा रहेको प्रष्ट हुन्छ ।
प्रिय नवराज ! तिम्रो सहादत प्रेमको मूल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो । तिमी यो यूगको महान प्रेमी थियौ । आदर्श प्रेमको उदाहरण थियो । तिमी युग युग अमर प्रेमको मानक बनेर इतिहासमा बाँचिरहने छौ ।
प्रिय नवराज ! तिमीले प्रेमका लागि मृत्यु रोज्नुपरेको ठाउँ कुनै सामन्तवादी अँध्यारो गाउँ मात्र थिएन । त्यो त सबैखाले बिभेदका बिरुद्ध, वर्ग र जात मेटाउन भन्दै सुरु गरिएको आँधीमय जनयुद्धको राजनीतिक आधारभूमि मानिएको रुकुम थियो ।
जातीय विभेद अन्त्य गर्ने नारा लगाएर दशकौँ राजनीति गरिएको भूगोल थियो । जनार्दन शर्माजस्ता प्रभावशाली नेताहरूको जिल्ला, शक्ति बस्नेतजस्ता मन्त्री निर्वाचित हुने क्षेत्र, छुवाछुतमुक्त जिल्ला घोषणा गरिएको भूमि, त्यही ठाउँमा अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा युवाहरू मारिनु केवल स्थानीय घटना होइन, सम्पूर्ण राजनीतिक नैतिकताको असफलता हो ।
जहाँ पूर्व खेलकुद मन्त्री दलजित सिर्पाली, राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपाली, उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकाससमितिका कार्यकारी निर्देशक चन्द्र विश्वकर्मा र वादी विकास बोर्डका पूर्व उपाध्यक्षले आफ्नो सगर्व कर्म भूमि बनाएका छन् । त्यतिमात्रै कहाँ हो र ? प्रदेश सभामा आरटी सिर्पालीको जीतदेखि धेरै स्थानीय निकायमा प्रमुख र उपप्रमुखदेखि वार्ड अध्यक्षसम्म दलित प्रतिनिधिको वर्चस्व थियो ।
त्यहाँबाट निर्वाचित हुनुको नाताले स्थानीय सरकारको नेतृत्व गर्नुको अर्थमा यि अगुवाहरूको भूमिका र जिम्मेवारी पनि जातको कारण मान्छे मर्नुमा हुन्छ कि हुन्न? कृपया दलित प्रतिनिधि र अभियन्ताहरू यो तीतो जात व्यवस्थाको सत्य तपाईहरूको सामु पनि राख्न चाहन्छु ।
सुरूवात आफैबाट पनि हो भन्ने तथ्य नभुल्नु होला, जहाँ अन्धविश्वास र कुरीति इतिहास बन्नुपर्थ्यो, त्यहीँ आज पनि जातीय घृणाले मानिसको ज्यान लिन्छ भने देश मात्र होइन, विश्व नै लज्जित हुन्छ । अझ विडम्बना त के भने, त्यही भूमिमा दलित समुदायबाट निर्वाचित प्रतिनिधि, अभियन्ता र नेतृत्वको उल्लेखनीय उपस्थिति हुँदाहुँदै पनि जातका कारण मानिस मारिनु गम्भीर आत्मसमीक्षाको विषय हो ।
नेतृत्वमा पुग्नु केवल पद प्राप्त गर्नु होइन । समाजलाई विभेदमुक्त बनाउने ऐतिहासिक जिम्मेवारी पनि हो । जात व्यवस्थाका प्रवर्तक र यसको अन्यायका प्रमुख हिस्सेदार गैरदलित हुन् यसमा कुनै सन्देह छैन ।
यद्दपि प्रश्न केवल गैरदलित समाजतर्फ मात्र होइन, सम्पूर्ण समाज, राज्य र दलित समुदायभित्रका अन्तर्विरोधतर्फ पनि उठ्नुपर्छ । कमला हेमचुरीले भनेझैं-‘एउटा कामीले दमाईको छोरी बिहे गरेर भित्र्याउन सक्दैन भने अरूलाई संविधान मानेनन् भन्ने अधिकार होला र र?’
जात व्यवस्था यही मनोविज्ञानको निरन्तरता हो । विभेद कसैले कसैमाथि गरे पनि त्यो विभेद नै हो-चाहे बाहुन-क्षेत्रीले गरून्, जनजातिले गरून् वा दलित समुदायभित्रै किन नहोस् । मान्छे भएर मान्छेबीच जातको लक्ष्मणरेखा कोर्नु कानुनको मात्र उल्लंघन होइन, मानव सभ्यतामाथिको उपहास पनि हो ।
संविधानले कसैलाई पनि अर्को मानिसलाई ‘तल’ वा ‘अछुत’ ठान्ने अधिकार दिएको छैन । त्यसैले जातीय विभेदविरुद्धको संघर्ष ईमानदार हुनुपर्छ । अरूमाथि प्रश्न उठाउने मात्र होइन, आफ्नै समाजभित्रका विभेद र बहिष्करणसँग पनि कठोर आत्मालोचना गर्ने साहस हुनु पर्छ ।
प्रिय नव भाइ ! म यो समाजका शासक र तिनका प्रतिनिधिहरूलाई प्रश्न गर्न चाहन्छु-छुवाछुत र जातीय हिंसाको यो सिलसिला आखिर कहिलेसम्म? कहिले च्यातिन्छ यो समाजलाई बाँधेर राखेको जात व्यवस्थाको निकृष्ट कानुन? कहिले पुरिन्छ असमानता? कहिले पुरिन्छ अपमान र विभेदको खाल्डो? कहिले निर्माण हुन्छ समता, मर्यादा र मानवतामा आधारित संस्कार र संस्कृति? समाजले सत्यबोध र यथार्थबोध आखिर कहिले गर्ने? भानुभक्त आचार्यको कलम र भक्तिवीर दर्जीको सियोको सामाजिक मूल्य कहिले बराबरीमा स्वीकार गरिन्छ? विष्णु विश्वकर्माको घन र बैकुण्ठ बाजेको गीताको श्रम, सिर्जना र योगदानलाई समाजले कहिले समान सम्मान दिन्छ ? जबसम्म श्रम, सिर्जना र मानव अस्तित्वलाई जातको तराजुमा तौलिन्छ, तबसम्म लोकतन्त्र केवल भाषणमा सीमित रहनेछ ।
सरकारसँग प्रश्न छ-समान कानुन, नैतिकता र व्यवहार लागू गर्न तिम्रो हात कसले बाँधेको छ? किन आज पनि पीडितले न्यायका लागि सडकमा कराउनुपर्छ? किन अपराधीहरू सामाजिक संरक्षण र राजनीतिक मौनताबाट बलिया भइरहेका छन्? ए सरकार ! आफ्ना नागरिकलाई जवाफ देऊ । अन्याय र अत्याचारको पर्खालभित्र पिल्सिएका भुइँमान्छेलाई न्याय देऊ । अन्याय गर्नेलाई कानुनको कठघरामा उभ्याऊ । समाजमा भइरहेका यस्ता जघन्य अपराधहरूको मौन मतियार बन्न छोड सरकार !
असभ्य, बर्बर र अमानवीय युगको अन्त्य गरेर समता, मर्यादा र न्यायको नयाँ अध्याय सुरु गर्न अब ढिलाइ गर्ने ठाउँ छैन । ढिलाइ जति बढ्छ, समाजमा घृणा, प्रतिशोध र सामुदायिक अविश्वास उति गहिरिँदै जान्छ । समुदाय-समुदायबीच द्वन्द्व र विखण्डन फैलन नदिन राज्यको सक्रियता, निष्पक्षता र नैतिक साहस आजको सबैभन्दा ठूलो आवश्यकता छ । अन्यथा समाज जात, धर्म र पहिचानका नाममा अर्को भयावह द्वन्द्वको चक्रव्यूहमा फस्ने खतरा बढ्दै जानेछ ।
(सञ्जीव कार्की दलित विषयका अध्येता हुन्)