आँधीको मनोरम नृत्य : निर्देशककाे दुष्शाहस

आँधीको मनोरम नृत्य : निर्देशककाे दुष्शाहस

काठमाडौँ,जेठ ४ । ‘मलाई अक्षरहरुले थिँचिरहेछन्, तर ज्ञान कहाँ छ?’ सुँक्क…. सुँक्क गर्दै उनी प्रश्न गरिरहेकी थिइन् । दर्शकदीर्घामा केहीछिन सन्नाटा छायो । उनका लागि स्कुल र घर दुबै बोझ हुन् । उनको चाहना अनुसारकोे परिबेश छैन । उनका हरेक इच्छाहरु उनी प्रतिकुल छन् । त्यसैले त उनी एक्लै चिच्याउन खोज्छिन् । एक्लै रोएर आफ्नो मन हलुका बनाउन खोज्छिन् । यो प्रसंग–‘आँधीको मनोरम नृत्य’ नाटककोे हो ।


नाटककी एक पात्र निस्सिम । उनी एक किशोरी हुन् । सम्पन्न घरकी एक्ली छोरी । घरमा सबैकुरा पुगीसरी छ । राम्रै बिद्यालयमा पढ्छिन् । तर उमेर बढ्दै जाँदा परिवारले आफुलाई साथ नदिएको आभास हुन्छ उनलाई । न त बिद्यालय नै उनको अनुकुल छ । सबै कुरा भएर पनि केही नभएको जस्तो अनुभुती हुन्छ । उनको उमेर नै यस्तै हो । परिवारको बेवास्ता र खराव संगतका कारण निस्सिम कलिलो उमेरमै गर्भवती बनेकी छिन् । निस्सिम त एक प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजका लाखौँ निस्सिमहरुको भोगाईलाई नाटक ‘आँधीको मनोरम नृत्य’ले सम्बोधन गर्ने प्रयास गरेको छ ।


नाटकले किशोर मनोबिज्ञानलाई दह्रोसंग प्रस्तुत गरेको छ । महंगो स्कुलमा भर्ना गरेपछि आफ्नो सम्पूर्ण दायित्व पुरा हुन्छ भन्ने अभिभावकलाई एकपटक सोँच वाध्य बनाउँछ नाटकले । नाटक हेर्नका लागि बत्तिसपुतलीस्थित शिल्पी थियटरमा पुगेका दर्शकहरुलाई एकपटक झस्काइदिएको छ । कतै हाम्रा बालबालिकाहरुको अवस्था पनि यस्तै हुने त होइन? भन्ने प्रश्न उब्जाइदिएको छ
नाटकले ।


व्यस्त जीवनशैलीका कारण अभिभावकले बालबालिकालाई पर्याप्त समय नदिएको विषयलाई नाटकमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । बिहिबार नाटक हेर्न पत्रकार बिजय पौडेल शिल्पी थियटर पुगेका थिए । पछिल्लाे समय सबैले हेर्नै पर्ने नाटक बनेकाे भन्दै उनले बुवा आमा र छोराछोरीबीचको दुरीे मेटाउन नाटक सफल भएको बिस्वास गर्छन् । उनी भन्छन्,–“हाम्रो समाजिक संरचना, पारिवारिक संरचना र परिबेश कसरी अनुकुल बनाउने भन्ने कुरालाई नाटकले सम्बोधन गरेको छ । हरेक परिस्थितिमा पारिवारिक छलफल हुन नसकेको खण्डमा परिवारले भोग्नु परेको समस्यालाई नाटकले उजागर गरेको छ ।”


त्यसो त, नाटकका लेखक तथा निर्देशक घिमिरे युवराजले समाजमा जल्दोबल्दो समस्याको रुपमा रहेकोे बिषयमा नाटक गर्ने आँट गर्नु नै आफुले चुनौतीको ठुलो पहाड उक्लेकोे बताउँछन् । भन्छन्,– “मैले यो नाटक गर्ने आँट मात्रै गरेको होइन, दुस्साहस पनि गरेको छु ।” किशोरावस्था सुन्दर समय हो । तर, यो आँधी पनि हो । अलिकति पनि ख्याल गरिएन भने ठूलो गडबडी हुन सक्छ । नाटक ‘आँधीको मनोरम नृत्य’मा उनले यस्तै किशोरावस्थाका बालबालिकाहरुकोे मनोविज्ञानलाई मञ्चमा उतारेका छन् ।

नाटकमा अभिभावक तथा कर्मचारीको भुमिकामा देखिएकी कलाकार मन्जु श्रेष्ठले वर्तमान परिवर्तनशील समयमा प्रविधिले ल्याएको एक्लोपन, परिवारप्रतिको बेवास्ता र अभिभावकको लापरबाहीले किशोरकिशोरीहरू विभिन्नखाले हिंसा भोग्न बाध्य भएको र यही बिषयलाई नाटकमा उतारिएको बताउछिन् । टिनएजका युथहरूका मनमा धेरै कुरा खेलिरहेका हुन्छन् । तर, अभिभावकले बालबालिकासँग प्रत्यक्ष संवाद नगर्दा उनीहरू आफ्ना मनको भाव पोख्ने साथी खोज्छन् र अपरिपक्व साथीको संगतले कुबाटो रोज्ने गरेको उनको भनाई छ ।


आधुनिक परिवेशमा किशोरकिशोरी पारिवारिक माया र अभिभावकत्वबाट वञ्चित हुँदै जाँदा कुण्ठित मनोविज्ञानमा पिल्सिनुपरिरहेको वास्तविकतालाई नाटकले उजागर गरेको छ ।
गहन विषयलाई बेजोड तरिकाले प्रस्तुत गर्न सक्नु र हरेक कलाकार आफ्नो भुमिकामा अब्बल देखिनु नाटकको अर्को बिशेषता हो ।

नाटकमा आमाको भुमिकामा देखिएकी कलाकार पवित्रा खड्का नाटकले आफुलाई परिपक्क बनाएको तर्क गर्छिन् । नाटकमै भएपनि आमाको भुमिका निभाउनु निकै चुनौतिपूर्ण कार्य भएको उनी बताउछिन् । यद्यपी, उनी नाटकको चरित्रमा भने खरो उत्रिएकी छिन् ।

केही वर्ष स्कुलमा शिक्षकको रुपमा जागिर खाइसकेकी कलाकार शौभाग्य सिंह नाटकमा आफै शिक्षकको भुमिकामा देखा परेकी छिन् । शिक्षकमा हुनु पर्ने गुण, शिक्षकले बिद्यार्थीमाथि गर्नु पर्ने ब्यवहार कस्तो रहने भन्ने कुरामा उनी चनाखो देखिन्छिन् । नाटकको सुरुवातमा उनी असल शिक्षकको रुपमा देखा परेकी छिन् । एउटा शिक्षकको काम पढाउने मात्र नभएर साना-साना बाल बालिकाहरुलाई रेख-देख गर्न सक्नु पर्छ भन्ने संदेश दिन उनको चरित्र सफल भएको छ । नाटकमा बिद्यार्थीको सिगानसमेत पुछिदिन पछि पर्दिनन् उनी । उनी बच्चाहरुलाई मायालु वातावरणमा पढाउने शिक्षकको रुपमा नाटकमा देखिएकी छिन् । तर उही शिक्षक प्रध्यानाध्यापक भए पछिको फरक अवस्था र मानसिक रुपमा बिछिप्त बनेको प्रसंगलाई नाटकले कलात्कम ढंगले प्रस्तुत गरेको छ । नाटकमा कलाकार सिंहले आफ्नो चरित्रलाई पूर्ण रुपमा न्याय गरेकी छिन् ।


समग्रमा नाटक हेर्न लायक बनेको र नाटकले अहिलेको युवा पुस्ता तथा किशोर किशोरीहरु कसरी कुलतमा फस्छन् भन्ने बिषयलाई उजागर गरेको दर्शक बताउँछन् ।

नाटकलाई प्रत्यक्ष संगीतले झनै संगीतमय बनाएको छ । स्मारिका फुँयालको सुमधुर आवाज नाटकमा सुन्न सकिन्छ । नमन चित्रकार, रविन परियार, सन्तोष कपाली, सञ्जय शाही र यशोदा सापकोटाले संगीतमा साथ दिएका छन् भने मानाङ लावतीको प्रकाश संयोजन रहेको छ ।

सविन कट्टेल, मन्जु श्रेष्ठ, दिवेन कार्की, विमल सम्बाहम्फे, मोहन महत, रविन परियार, संगीता उराव, गोविन्द ओली, सन्जु कार्की, विवेक चौलागाईं, प्रकाश खनाल, सन्तराम पासी, प्रेम खतिवडा, हिमाल भुजेल, सुरेश सार्की, पवित्रा खड्का, झकेन बिसीलगायत कलाकारको अभिनय रहेको नाटक जेठ १३ गतेसम्म निरन्तर मञ्चन हुनेछ ।

Facebook Comments

Trending News