डिजि स्कुल र बेलायतको ‘इन्स्टिच्युट अफ एनालिटिक्स’बीच साझेदारी, नेपालमा डाटा र एआई शिक्षाको नयाँ अध्याय सुरु

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपालमा डाटा, एनालिटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने उद्देश्यसहित डिजि स्कुल र बेलायतस्थित प्रतिष्ठित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बीच ऐतिहासिक व्यावसायिक साझेदारी सम्झौता भएको छ।

काठमाडौंको म्यारियट होटलमा आयोजित विशेष समारोहमा डिजि ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजु बानियाँ र आईओएका ग्लोबल कमर्सियल डाइरेक्टर ओल्गा सारा ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार डिजि स्कुल र आईओएले नेपालमा विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआईसम्बन्धी शिक्षा र प्रमाणीकरण कार्यक्रम सञ्चालन तथा विस्तार गर्नेछन्। यो सहकार्य पूर्ण रूपमा डिजि स्कुल र आईओएबीचको प्रत्यक्ष व्यावसायिक साझेदारी भएको जनाइएको छ।

डिजि स्कुलले विगत पाँच वर्षदेखि विद्यालय तहमा बेलायतको एनसिसि एजुकेशन युकेसँगको सहकार्यमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि स्नातक तहका विद्यार्थीलाई लक्षित नयाँ कार्यक्रम भने आईओएसँगको प्रत्यक्ष सहकार्यअन्तर्गत सञ्चालन हुने बताइएको छ।

यस साझेदारीसँगै नेपालमा पहिलोपटक आधिकारिक रूपमा ‘आईओए नेपाल च्याप्टर’ स्थापना हुने बाटो खुलेको छ। यसबाट विद्यार्थी, शिक्षक तथा डाटा र एआई क्षेत्रमा कार्यरत पेशेवरहरू अन्तर्राष्ट्रिय व्यावसायिक समुदायसँग जोडिन सक्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार नेपाली विद्यार्थीहरूले आईओएअन्तर्गत उपलब्ध ६०० भन्दा बढी अन्तर्राष्ट्रियस्तरका कोर्षहरू अध्ययन गर्न पाउनेछन्। साथै, उनीहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गर्नुका साथै उद्योगले माग गर्ने व्यवहारिक सीपसमेत हासिल गर्ने अवसर पाउनेछन्।

विद्यार्थीहरूले आफ्नो सुविधाअनुसार अध्ययन गर्न सकिने सेल्फ-स्टडी प्रणालीमार्फत उन्नत तालिम लिन सक्नेछन्। साथै, अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग नेटवर्किङ, व्यावसायिक समुदायमा सहभागिता तथा करियर विकासका अवसरहरू पनि उपलब्ध हुने जनाइएको छ।

डिजि स्कुलको स्थानीय डिजिटल सिकाइ पूर्वाधार र आईओएको विश्वव्यापी दक्षता मापदण्डको संयोजनले नेपालको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रिय उद्योगको आवश्यकताबीच रहेको दूरी कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिले नेपालका युवाहरूलाई डाटा-सञ्चालित विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य रहेको बताएका छन्।

बेलायतमा स्थापित Institute of Analytics डाटा एनालिटिक्स, डाटा साइन्स तथा एआई क्षेत्रमा कार्यरत पेशेवरहरूको अग्रणी अन्तर्राष्ट्रिय संस्था मानिन्छ। संस्थाले नैतिक डाटा प्रयोग, निरन्तर व्यावसायिक विकास तथा तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन गर्दै आएको छ।

सफ्ट एड ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित Digi School ले विद्यालय तहमा बेलायती कम्प्युटिङ पाठ्यक्रम तथा आधुनिक ई-लर्निङ प्लेटफर्ममार्फत डिजिटल सीप विकासमा योगदान पुर्‍याउँदै आएको छ। संस्थाले अब आईओएसँगको नयाँ सहकार्यमार्फत उच्च शिक्षा तहमा पनि अन्तर्राष्ट्रियस्तरका अवसर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

यस साझेदारीले नेपालका विद्यार्थीहरूलाई विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई शिक्षामा पहुँच विस्तार गर्नुका साथै देशको डिजिटल रूपान्तरण र दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।