काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत एक छात्रले छतबाट हामफालेर आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका–७, चाबहिल घर भएका १८ वर्षीय विद्यार्थी आर्यन सिंहले आत्महत्या गरेको हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सिंहले सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट हामफालेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
सिंहले छतबाट हामफाल्नुअघि एउटा कापीमा केही कुरा लेखेर छाडेका थिए। हिन्दी भाषाको रोमन लिपिमा लेखिएको उक्त सामग्री प्रहरीले अध्ययन गरिरहेको एसपी मिश्रले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा उनको लेखाइबाट मानसिक तनाव वा मनोवैज्ञानिक समस्यासम्बन्धी संकेत देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।