काठमाडौँ । सामाजिक सञ्जालमा खुकुरी देखाई युवतीलाई डराई धम्काई कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका २ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मगरले पीडित युवतीलाई जंगलमा लगी खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । मगरले रातको समयमा एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।
साथै प्रहरीले उनको घरबाट नियन्त्रित लागूऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट फेला पारी बरामद गरेको छ । प्रहरीले आवश्यक अनुसन्धानको लागि १ जनालाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।