काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी सेवा छाडेका प्राध्यापक र कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमअनुसार सेवामा पुनः हाजिर नभएका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो।
समितिका अनुसार अध्ययन बिदा लिएर उच्च शिक्षा हासिल गरेपछि विश्वविद्यालयमा फर्केर सेवा नगर्ने, अध्ययन बिदाको सर्तअनुसार तोकिएको अवधि पूरा नगरी सेवा त्याग्ने तथा विभिन्न कारणले विश्वविद्यालयसँगको दायित्व पूरा नगर्ने शिक्षक-कर्मचारीको विवरण संकलन तथा व्यवस्थापनका लागि यो सूचना जारी गरिएको हो।
त्रिविले अध्ययन बिदा सुविधा प्राप्त गरेका शिक्षक तथा कर्मचारीले विश्वविद्यालयसँग गरेको सम्झौता र सेवा सर्त पालना गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। यसअघि पनि विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक-कर्मचारीलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो।
समितिले सूचनामा उल्लेख गरिएका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई निर्धारित १५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन अनुरोध गरेको छ। तोकिएको अवधिमा सम्पर्कमा नआए विश्वविद्यालयको नियम र प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।