काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन थुनामा राख्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले उक्त अनुमति दिएको हो।
अख्तियारले राहदानी छपाइसम्बन्धी भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि दुवै अधिकारीलाई २० दिन हिरासतमा राख्न माग गरेको थियो। तर अदालतले सोमबारदेखि लागू हुने गरी चार दिनको म्याद मात्र स्वीकृत गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
उनका अनुसार राहदानी छपाइ प्रक्रियासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा अनुसन्धान अघि बढाउन अदालतले थुनामा राख्ने अनुमति प्रदान गरेको हो।